रवि लामिछानेविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा फेरी अर्को मुद्दा



काठमाडौं– निर्मला पन्तका हत्यारा दिलिप नै हो भनेर कार्यक्रममा सार्वजनिक गरेको भन्दै टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा पनि मुद्धा परेको छ ।

दिलिपसिंह विष्टका दाई खड्क बिष्टले रवि लामिछाने, सीआईबीका तत्कालीन डिएसपी अंगुर जिसी र न्यूज २४ टेलिभिजनविरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गरेका हुन् । दिलिप विष्टलाई निर्मला बलात्कार–हत्या प्ररकणमा प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरेको थियो । घटनामा संलग्न भन्दै सार्वजनिक समेत गरिएको थियो । तर, डिएनए नमिलेपछि उनी हिरासतमुक्त भएका थिए ।

दिलिपको अनुसन्धान तत्कालीन सीआईबीका डिएसपी जिसीले नै गरेका थिए । जिसीले उनीसँग लिएको भिडियो बयान सञ्चार माध्यममा सार्वजनिक भएको थियो । निर्मलाको बलात्कारपछि हत्या भएको एक वर्षपछि लामिछानेले न्यूज २४ बाट प्रशारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा दिलिपको त्यही भिडियो प्रशारण गरेका थिए भने सोही कार्यक्रममा जिसीले दिलिप नै निर्मलाको बलात्कार तथा हत्यमा संलग्न रहेको दाबी गरेका थिए । दिलिपबाहेक अर्काे मान्छे हुनै नसक्ने उनले दाबी गरेका थिए ।

अनुसन्धानपछि घटनामा संलग्न नदेखिएर प्रहरीले छोडका व्यक्तिका विषयमा भ्रम हुनेगरि टेलिभिजनबाट कार्यक्रम प्रशारण गरेको तथा निलम्बित डिएसपी जिसीले मानमर्दन हुने काम गरेको भन्दै उनीहरुविरुद्ध मानहानीको मुद्धा दायर भएको स्रोतले जनाएको दैनिक नेपालमा समाचार छ ।

त्यति मात्र होइन, लामिछानेले निर्मला प्रकरणलाई नजिकबाट हेरिरहेका पत्रकार खेम भण्डारीको समेत कार्यक्रमको अर्काे अंकमा अन्तर्वार्ता लिएका थिए । सोही कार्यक्रममा पनि दिलिप नै दोषी भएको र उनलाई भण्डारीले जोगाउन खोजेको भन्ने आशयबाट ‘चर्काचर्की’ भएको थियो ।

कार्यक्रममा निलम्बित डिएसपी पनि सहभागी थिए । आफूलाई जानकारी नदिई उनलाई सहभागी गराइएको पत्रकार भण्डारीको आरोप छ । सोही कार्यक्रमपछि पत्रकार भण्डारीले हालै लामिछाने र न्यूज २४ विरुद्ध पत्रकार आचारसंहितको नांगो उलंघन गरेको भन्दै प्रेस काउन्सिलमा पनि मुद्धा दायर गरिसकेका छन् ।

उनले लामिछानेले सोही कार्यक्रमबाट माफी माग्नुपर्ने लगायत हदैसम्मको कारवाही माग गरेका छन् । यसअघि कार्यक्रम प्रस्तोता लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्धा परेको थियो । उनी १० प्रहरी दिन हिरासत बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्