राष्ट्रियसभामा पेस भयो पत्रकारहरूलाई तह लगाउने मिडिया काउन्सिल विधेयक



काठमाडौं– सञ्चारकर्मी र सञ्चारमाध्यमलाई नियमन गर्ने नेपाल मिडिया काउन्सिल विधेयक बिहीबार राष्ट्रियसभामा पेस भएको छ ।
सरकारले नेपाल पत्रकार महासंघलगायत सञ्चारसम्बद्ध संस्थाका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि विधेयक अघि बढेको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।

प्रेसलाई संकुचन गर्ने गरी विधेयक ल्याइएको भन्दै सरोकारवालाले विरोध जनाएका थिए। विरोधकै कारण विधेयक झन्डै चार महिना संसद्मा अड्किएको थियो ।

सत्तासीन नेकपा संसदीय दलले महासंघसँग विधेयक परिमार्जन गर्ने सहमति जनाएको थियो। तर, प्रमुख विपक्षी कांग्रेसले असहमति कायमै राखेका कारण बिहीबार मात्र विधेयकले संसद्को प्रक्रियामा प्रवेश पाएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय सभा बैठकमा विधेयक पेस गरे। कांग्रेसले बैठकमा पनि विधेयकमा विरोधको सूचना दिएको थियो। त्यसपछि मन्त्री बाँस्कोटाले प्रेससम्बद्ध संस्थाका माग सम्बोधन गर्ने प्रतिबद्धता बैठकमा जनाए ।

कांग्रेसका तर्फबाट राधेश्याम अधिकारीले विरोधको सूचना फिर्ता लिए। अधिकारीसहित कांग्रेसका सरिता प्रसाईं, अनिता देवकोटा र प्रकाश पन्थले संयुक्त रूपमा विरोधको सूचना दिएका थिए।

काउन्सिललाई सजाय गर्ने अधिकार दिइएको, मिडियालाई स्वायत्त संस्थाका रूपमा स्वीकार नगरिएको, प्रेसलाई स्वनियमनको सिद्धान्त स्वीकार नगरिएकाले विधेयकमा विरोधको सूचना दिनुपरेको सांसद अधिकारीको भनाइ थियो ।

‘मिडिया काउन्सिलको काम सञ्चारकर्मीलाई सजाय तोक्ने होइन’, उनले भने, ‘मिडियाको स्तर कसरी उच्च बनाउने, मिडियालाई कसरी मर्या्दित र स्वतन्त्र बनाउने भन्ने हो।’

काउन्सिललाई संसद्प्रति उत्तरदायी बनाउन यसका पदाधिकारी नियुक्तिको संयन्त्र संसद्मातहत बन्नुपर्ने धारणा उनले व्यक्त गरे। काउन्सिल अध्यक्षका लागि १० वर्ष र सदस्य बन्न १५ वर्ष पत्रकारिता अनुभव चाहिने प्रस्ताव अमिल्दो भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्