अब विदेशी च्यानल विज्ञापन रहित



काठमाडौं– विदेशी विज्ञापनलाई रोक लगाउने गरी सरकारले ल्याएको ‘क्लिन फिड’ विज्ञापन नियमन गर्ने विधेयक राष्ट्रिय सभाले पारित गरेको छ ।

यो विधेयक लागु भएपछि नेपालमा डाउनलिंक अनुमति लिई प्रसारण हुने विदेशी च्यानलाई विज्ञापनरहित हुने छन् । विधेयक पारित भएसँगै मुलुकको राजस्व वृद्धि र रोजगारीका लागि क्षेत्र विस्तार भएको छ । उपभोक्तसँग ठूलो मात्रामा शुल्क लिएर विदेशी च्यानल वितरण गर्दै आएका सेवा प्रदायकहरूलाई नियमन गर्न आएको कानूनको सबैतिरबाट स्वागत भएको छ ।

विधेयकमा क्लिन फिडको व्यवस्था गर्दा सबै किसिमका विज्ञापन स्वदेशी सञ्चारमाध्यमबाट प्रसारण गरी स्वदेशी विज्ञापन बजारलाई विस्तार गर्न मद्दत पुग्नेछ । यसअघि सरकारले २०७३ मा नै क्लिन फिडको नीति ल्याए पनि सेवा प्रदायक कम्पनीहरूको विरोधका कारण कार्यान्वयनमा आउन सकेको थिएन ।

विधेयक पारित भएपछि विज्ञापनका माध्यमबाट राजस्व र रोजगारीमा वृद्धि गरी विदेशी च्यानलको नाममा ठूलो मात्रामा हुने विदेशी मुद्राको बहिर्गमनलाई घटाउने विश्वास लिइएको छ । क्लिन फिडको व्यवस्था हुँदा नेपालमा डाउनलिंक अनुमति लिई प्रसारण भएका विदेशी टेलिभिजन च्यानल उपभोक्ताले स्वच्छ र सफा रूपमा हेर्न पाउनेछन् ।

बहुराष्ट्रिय कम्पनीका उत्पादनको विज्ञापनलाई स्वदेशी च्यानलबाटै प्रसारण गराई स्वदेशी विज्ञापन एजेन्सी र टेलिभिजन च्यानलहरूलाई आत्मनिर्भर बनाउनेछ ।

स्वदेशी च्यानलहरूमा बहुराष्ट्रिय कम्पनीका विज्ञापन वृद्धि गराई उनीहरूका कार्यक्रमको गुणस्तर वृद्धि गर्न मद्दत पुग्नेछ । स्वदेशी कार्यक्रमको गुणस्तर वृद्धि गराई विदेशी च्यानलबाट हुने भाषिक तथा सांस्कृतिक अतिक्रमण न्यून हुनेछ ।

प्रतिक्रिया दिनुहोस्