नेपालमै फलाम खानीको व्यवसायीक उत्पादन सुरु हुन्छ : मन्त्री भट्टराई



नवलपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले नेपालमै फलाम खानी सञ्चालनमा ल्याउने बताएका छन् । भट्टराईले नवलपुरको धौवादिमा रहेको फलाम खानीबाट छिट्टै व्यवसायीक उत्पादन सुरु हुने बताएका छन् ।

बिहीबार हुप्सेकोट गाउँपालिका पाँच धौवादिमा धौवादि रुद्रपुरगढी पर्यटकीय क्षेत्र उद्घाटन, लालीगुँरास संरक्षित क्षेत्र घोषणा तथा एकिकृत नमुना बस्तिको शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै मन्त्री भट्टराईले धौवादिको फलाम खानी विश्वकै गुरस्तरीय फलाम खानीका रुपमा रहेको बताए । नेपालमा निर्माण हुने भौतिक संरचना निर्माणमा यो फलाम खानीले अवश्य टेवा दिने छ र नेपालबाट विदेश निर्यात हुने वस्तुमा समेत महत्वपूर्ण स्थान लिनेछ , यो नेपालको आर्थिक समृद्धिमा समेत कोशे ढुङ्गा साबित हुनेछ । ’

उनले हालैमात्र मन्त्री परिषदको बैठकले फलाम खानीको उत्खनन गर्ने र यसलाई व्यवसायीक प्रयोजनमा अगाडि बढाउन कम्पनीको रुपमा अगाडि बढाउने निर्णय गरेको भन्दै नवलपुरवासी र देशकै लागि यो खुसीको कुरा भएको बताए ।

मन्त्री भट्टराईले विकास निर्माणको काममा तीनै तहका सरकार मिलेर अगाडि बढ्न आवश्यक रहेको बताए । ‘तीनै तहका सरकारसँग सहकार्य गर्दै विकास, निर्माण र समृद्धिको काममा सँगसँगै अगाडि बढ्ने हाम्रो प्रतिबद्धता छ ।’ जनताले विशेष गरी दुई ठुला पार्टी नेकपा र नेपाली कांग्रेसलाई भरोसा गरेको भन्दै विकास निर्माणका काममा हातेमालो गरेर अघि बढ्नुको विकल्प नरहेको उनले बताए । उनले भने, ‘हाम्रो प्रतिस्पर्धा चुनाबमा हुन्छ । हाम्रो प्रतिस्पर्धा राजनितीमा हुन्छ, यो वेला हुनैपर्छ लोकतन्त्रमा यो आवश्यक पनि छ तर, जब विकास र निर्माणको कुरा आउछ हामी सबै एकताबद्ध छौं । ’

प्रतिक्रिया दिनुहोस्