लुटको आतंक मच्चाउने ३ भारतीय सहित सात जना पक्राउ



काठमाडौं– इलाका प्रहरी कार्यालय पथरीको टोलीले स्कर्पियो गाडी लिएर विराटनगरमा आतंक मच्चाउने तीन जना भारतीय नागरिक सहित सात जनालाई पक्राउ गरेको छ ।

प्रहरीको टोलीले BR32PA2836ट नम्बरको स्करपियो गाडी सहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यको मधुवनी बेनिपट्टि कटैया–१३ का ३५ वर्षीय धर्मेन्द्र कामत, सोही स्थानका ३२ वर्षीय लक्ष्मण गुप्ता र मधुवनी बेनिपट्टि थाना लदौत–६ का ४४ वर्षीय मो.मोतिउर रहमान रहेका छन् ।

यसैगरी रौतहटको गौर–३ पोखरियाका ४१ वर्षीय मो.मोहिज धुनियाँ, सोही स्थानका ५० वर्षीय बलराम क्षेत्री, सर्लाहीको ब्रम्हपुरी–४ का ५२ वर्षीय सेख मो.सलिफ र सोही स्थानका ४६ वर्षीय शेख अलि असगर रहेका छन् । लुटेरा समूहले विराटनगर महानगरपालिका–२ शनिहाटमा रहेको पन्चकन्या ट्रेड लिंकबाट साउन २३ गते सटर फोडेर ५ लाख ९५ हजार रुपैयाँ लुटेर लगेका थिए ।

यस्तै उनीहरुले विराटनगर शनिहाटमा रहेको गणनायक मार्के्टिङ हाउसबाट साउन २३ गते नै ४ लाख रुपैयाँ लुटेर लगेका थिए । यस्तै विराटनगर महानगरपालिका–७ को कदमाह कृषि सहकारी संस्था लिमिटेडबाट उनीहरुले भदौ १ गते सटर फोडेर ४ लाख ९५ हजार रुपैयाँ लुटेर लगेका थिए । यस्तै भवानी ईन्टरप्राईजेजको सटर फोडेर उनीहरुले भदौ १० गते ६ लाख रुपैयाँ लुटेर लगेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट डकैत गर्न प्रयोग गरिएका विभिन्न सामाग्रीहरु बरामद गरेको प्रहरीले जनाएको छ । डकैती गर्ने उदेश्यका साथ भदौ ९ गने विहान जोगबनी नाकाबाट उनीहरु नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्