भटाभट पार्टी छाड्दै विप्लवका कार्यकर्ता



काठमाडौं– प्रतिबन्धित नेकपा (नेत्रविक्रम चन्द, विप्लव) समूहका नेताहरूले भटाभट पार्टी परित्याग गर्न थालेका छन् । विप्लव समूहको रामेछाप इञ्चार्ज रहेका यादव ढुङ्गेल (जमन) ले मंगलबार विज्ञप्ती प्रकाशन गरेर पार्टी परित्याग गरेका थिए ।

ढुंगेललाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले पक्राउ गरेको थियो । उनले ३ हजार धरौटी बुझाएर रिहा भएकै दिन विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
यसैगरी विप्लव समूहका बागलुङका नेताले प्रशासनसमक्ष आत्मसमर्पण गरेका छन् । प्रहरी हिरासतमा रहेका हरी कुवरले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री, प्रहरी प्रमुख नबराज भट्ट, सशस्त्र प्रहरी बासुदेव पौडेल लगायतका सुरक्षा निकाय प्रमुख, नागरिक समाज, पत्रकारहरुको रोहवरमा आत्मसमर्पण गरेका हुन् ।

उनी २६ दिनदेखि हिरासतमा थिए । कुँवरलाई ढोरपाटनको एनसेल टावर आक्रमण लगत्तै संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । फार्मेसी व्यावसाय गरिरहेका उनी राष्ट्रिय जनमोर्चाबाट माओवादी, वैद्य समूह हुँदे विप्लव समूहमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्