रविन्द्र अधिकारीलाई सम्झिँदै योगेश भट्टराईले भने : पोखरा विमानस्थल चाँडो सक्नु



कास्की– संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएपछि योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न गर्द निर्माण पक्षलाई निर्देशन दिएका छन् ।

मन्त्री भएपछि पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवलोकन गरेका मन्त्री भट्टराईले विमानस्थल निर्माणको प्रगति बुझेपछि स्वर्गीय रविन्द्र अधिकारीलाई सम्झिए थिए । रवीन्द्रलाई सम्झँदै भट्टराईले ठूला गौरवका आयोजना नेपालमा पनि समयभन्दा अगाडि नै सम्पन्न हुन्छ भन्ने सन्देश जान लागेको बताए ।

त्यसअघि निमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले मन्त्री भट्टराईलाई ४५ प्रतिशत काम सकिएको जानकारी गराए । धमाधम निर्माण कार्य भइरहेको र समयभन्दा ६ महिना अगाडि नै काम सम्पन्न हुने उनको दाबी छ । मन्त्री भट्टराईले पनि समय अगावै र्निमाण सकेर उदाहरण दिन निर्देशन दिए । नेपालमा ठूला आयोजनाहरु काम नभएर रोकिरहँदा नेपालमा कामै हुँदैन भन्ने सन्देश गएको भन्दै उनले त्यसलाई चिर्नुपर्ने बताए ।

‘विदेशीले पटकपटक यस्ता आयोजनामा प्रश्न उठाइराखेका छन् । लगानीकर्ताको उद्देश्य छिटो सकेर छिटो नाफा लिने हुन्छ,’ भट्टराईले भने, ‘यो आयोजना ६ महिनाअगाडि सम्पन्न गर्छौं । यसले सिंगो मुलुकलाई विश्वास दिलाउँछ ।’ विमानस्थल निर्माणले गति दिएसँगै अन्तर्राष्ट्रिय उडान तथा अध्यागमनको जनशक्ति व्यवस्थाका लागि काम सुरु भइसकेको उनले बताए । ‘गौतमबुद्ध र पोखरा विमानस्थललाई ध्यान दिँदै कमिटी बनाउन लागेका छौं । त्यो कमिटीले विदेशका एयरलाइन्ससँग सम्पर्क, छलफल गर्ने काम गर्छ,’ मन्त्री भट्टराईले भने ।

पर्यटनमन्त्री भट्टराईले विमानस्थल निर्माणका विषयमा स्थानीय सरोकारवालादेखि जिल्ला तहका नेता, प्रदेश सांसद र प्रदेशका मन्त्रीहरुलाई डाकेर छलफल गरेका थिए । विमानस्थल निर्माणका समस्या र चुनौतिका विषयमा बुझेर कसरी समन्वयमा समयभन्दा अगाडि नै निर्माण सक्ने भनेर आफू लागेको उनको भनाइ थियो । गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले विमानस्थल निर्माणका कतिपय समस्या प्रदेशले समाधान गर्न सक्ने भएपनि समन्वयन नभएको बताए । विमानस्थलसँगै सडक निर्माणलाई पनि जोड दिनुपर्ने उनको भनाइ थियो ।

स्थानीयबासीले भने मुआब्जा नपाएको, विमानस्थलकै कारण सिँचाइको समस्या भएको र पटक(पटक बिस्थापित हुनुपरेको गुनासो गरेका थिए । पर्यटनमन्त्री भट्टराईले भने ठूलो आयोजना निर्माण हुँदा केही कमजोरी भएको हुनसक्ने बताए । तर स्थानीय जनतालाई नांगेझार बनाएर आयोजना नबनाइने भन्दै उचित माग सम्बोधन गर्ने आश्वासन दिए । २१ अर्ब लागतमा पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी सीएमसीले ०७१ वैशाख २९ मा पाएको थियो । सन् २०२१ जुलाई १० भित्र काम सकेर हस्तान्तरण गर्ने सम्झौतामा छ ।

प्रतिक्रिया दिनुहोस्