कक्षामा बढ्दा बढ्दै आठ विद्यार्थी बेहोस, एकको मृत्यु, दुई गम्भिर विराम



पाल्पा– पाल्पाको रम्भा माविमा कोचिङ्ग कक्षा बढ्दा बढ्दै आठ जना विद्यार्थी बेहोस भएका छन् । कक्षामा अध्ययन गर्दा गर्दै बेहोस भएका मध्ये छात्रा कमला फालको मृत्यु भएको छ । बेहोस् भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दीपेन्द्र जीसीका अनुसार कक्षा कोठाभित्र बेहोस भएका विद्यार्थीहरुलाई उपचार गर्न सुरुमा ताहु स्वास्थ्य चौकीमा लगिएको थियो । स्वास्थ्य चौकीले थप उपचारका लागि कमलालाई लुम्बिनी मेडिकल कलेजमा पठाएको थियो । तर, लुम्बिनी मेडिकल कलेजका डाक्टरहरुले १६ वर्षीय कमलाको मृत्यु भइसकेको बताएको एसपी जीसीले जानकारी दिए ।

गम्भीर अवस्थामा रहेका एक जना छात्र र एकजना छात्राको मिसन अस्पतालमा उपचार भइरहेको छ । अन्य पाँच जनाको ताहुमै उपचार भइरहेको छ । विद्यालयले कक्षा १० का विद्यार्थीहरुलाई लक्षित गरी बिहान ८ बजेदेखि १० बजेसम्म कोचिङ कक्षा चलाउँदै आएको छ । उनीहरु कोचिङ पढ्दा पढ्दै बेहोस भएका थिए ।

मास हिस्टेरिया जस्तो लक्षण देखिने यस्तो समस्या पहिले विद्यालयमा नभएको जानकारी आएको र त्यसबारे अनुसन्धान भइरहेको एसपी जीसीले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर देवराज पौडेलको नेतृत्वमा जिल्ला अस्पताल पाल्पाका डाक्टरहरुको टोली अनुसन्धानका लागि विद्यालयमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्