सर्वोेच्च किन हेर्न भ्याउँदैन भ्रष्टाचारका मुद्दा



काठमाडौं– सर्वोच्च अदालतमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर भ्रष्टाचार गरेको अभियोगमा १९ वटा मुद्दाको पेसी चढेको छ । राजधानी दैनिकले खबर छापेको छ ।

सर्वाेच्चले यी सबै मुद्दा हेर्न नभ्याउने सूचीमा राखिएको छ । ती मुद्दा दुई वर्षदेखि इजलासमा पेसी चढ्दै स्थगित र हेर्न नभ्याउने सूचीमा राख्दै आएको छ ।

यी त प्रतिनिधि मुद्दा मात्रै हुन् । २०७१ सालदेखि भरतकुमार यादवको भ्रष्टाचार मुद्दामा मात्रै २२ पटक पेसी तोकिएको छ । सामाजिक सुरक्षा भत्ता अनियमितता गरी भ्रष्टाचार गरेको सो मुद्दाको पेसी ७ असोजका लागि तोकिएको छ ।

प्राथमिक विद्यालयको रकम लिई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा खेपिरहेकी नर्बदा भट्टराई, डिल्लीराम भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद इसुफ मियाँलाई विपक्षी बनाएर दायर रिट दुई वर्षदेखि अदालतमा अल्झिरहेको छ ।

उनीहरूको मुद्दामा आठपटक पेसी तोकेर हेर्न नभ्याउने सूचीमा राखिएको छ । पछिल्लो समय ३ असार २०७६ मा न्यायाधीश प्र्रकाशमानसिंह राउत र डा. मनोजकुमार शर्माको इजलासमा पेसी तोकेर बेन्च बस्न नभ्याएको उल्लेख भयो । अब अर्को पेसी ७ असोजका लागि तोकिएको छ ।

अदालतमा वर्षौंदेखि पेसी तोकेर हेर्न नभ्याउने, स्थगित हुने र बेन्च बस्न नभ्याएर पेसी सर्ने क्रमले विगत पाँच वर्षदेखि निरन्तरता पाउँदै आइरहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पदभार गरेकै दिन भ्रष्टाचार मुद्दामा शून्य सहनशीलता अपनाउने गरेको प्रतिबद्धता कागजमा मात्र सीमित हुन पुगेको छ । १९ पुसमा पदबहाल भएयता उनले भ्रष्टाचार मुद्दाको पेसी तोक्ने गरे पनि स्थगित र हेर्न नभ्याउने सूचीले भने रेकर्ड कायम गर्दै आइरहेको छ ।

अदालतमा बर्षे्नि भ्रष्टाचारको मुद्दाको चाङ कछुवाको गतिमा अगाडि बढिरहेको छ । अकुत सम्पत्ति आर्जन, घुस, नक्कली प्रमाणपत्र, गैरकानुनी कर्जा, सार्वजनिक सम्पत्ति हिनामिना, ठेक्कापट्टामा गोलमाल, बैंक घोटालालगायत भ्रष्टाचारका ६ सयभन्दा बढी मुद्दाको पेसी अगाडि बढ्न सकेको छैन ।

विशेष अदालत ऐन, २०५९ को दफा १६ (२) मा विशेष अदालतको निर्णयमाथि परेको पुनरावेदन मुद्दाको प्राथमिकताका साथ मिसिल प्राप्त भएको मितिले तीन महिनाभित्र किनारा गर्नपर्ने भनिएको छ । तर, सर्वोच्चले मुद्दाको सुनुवाइ त परको कुरा मुद्दाको पेसी चढाउनेमा भने रेकर्ड कायम गरेको छ ।

६ फागुन २०६९ मा दर्ता भएको नेपाली कांग्र्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा वर्षाैंदेखि अदालतमा अल्झिरहेको छ । उनीसहित भ्रष्टाचारको दुई दर्जन मुद्दाको पेसीमा कानुन व्यवसायीबाट सुनुवाइ स्थगित गराउँदै आएको छ । जोशीको भ्रष्टाचार मुद्दाको पेसी चढ्दा कानुन व्यवसायी बिरामी भएर उपस्थित हुन नसकेर धेरैपटक स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्