खानेपानी योजना सञ्चालनार्थ उपभोक्ताबाटै सापटी



काभ्रेपलाञ्चोक  ।  पाँचखाल नगरपालिकामा सञ्चालन गर्न लागिएको सुनकोसी पाँचखाल बृहत् खानेपानी परियोजनाका लागि उपभोक्ताबाटै  ऋण सापटी गरिएको छ । हालसम्म त्यहाँका  ५५ उपभोक्ताले दुई लाखका दरले ऋण सापटी दिएकामा रु एक करोडभन्दा बढी जम्मा भएको छ । स्थानीय उपभोक्ताले परियोजनाको बैंक खातामा रु १८ हजारका दरले  कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गर्नुपर्ने शर्त छ । 
शर्तअनुसार रकम जम्मा नभएपछि १८ हजार जम्मा गर्न नसक्ने उपभोक्तालाई सहकारीको ऋणी बनाइएको छ भने नपुग उपभोक्ताबाटै ऋण सापटी लिइएको वडा नं ७ का वडाध्यक्ष पुष्कर ढकालले बताउनुभयो । उहाँले भन्नुभयो “समयमै खानेपानी सञ्चालनका लागि ऋण सापटी अभियाअन्तर्गत मैले पनि रू दुई लाख दिएको छु ।”

नेपाल सरकार, नगर विकास कोष, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लगानी रहेको सो परियोजनामा  नगरपालिका कार्यालयको जमानीमै स्थानीय  उपभोक्तालाई सहकारीमार्फत रु दुई करोडको ऋणी पनि बनाइएको छ । इन्द्रावती नदी किनारमा इनार बनाइ लिप्mिटङ प्रविधिद्वारा पाँचखाल नगरका विभिन्न बस्तीमा खानेपानीको  व्यवस्था गर्न लागिएको छ । स्थानीय सहकारीले भने चलनचल्तीभन्दा कम (न्यूनतम पाँच प्रतिशतसम्म) ब्याजदरमा करीब एक हजार ५०० खानेपानी उपभोक्तालाई ऋण लिन लगाइएको  नगरप्रमुख महेश खरेलले बताउनुभयो । उहाँले भन्नुभयो “उक्त ऋण रकम उपभोक्ताले एक वर्षभित्र तिर्न नसके नगरपालिकाले तिरिदिनेछ ।”

रु दुई अर्ब २१ करोडको लागतमा निर्माण गरिने सो परियोजनाका लागि नपुग रकम ऋण सापटीमार्फत जम्मा गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिनुभयो । सो परियोजनाबाट करीब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् । 

उहाँका अनुसार पयिोजनाको बैंक खातामा हालसम्म उपभोक्ताबाट मात्रै करीब रू नौ करोड ५० लाख  जम्मा भएको छ । उपभोक्तासँग लिएको ऋण सापटी भने आउँदो तीन महीनाभित्र फिर्ता गरिने योजना बनाइएको छ । 
प्रतिक्रिया दिनुहोस्