रवि लामिछाने पाँच लाख धरौटीमा रिहा



काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्सान अभियोगमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामीछाने पाँच लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ ।

सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो । जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले लामिछानेलाई ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘अब उहाँहरुले धरौटी बुझाएपछि थुनामुक्त गरिनेछ ।’ अदालतले धरौटीमा छाड्ने आदेश दिएसँगै तीनै जनाले हिरासत बाहिरै रहेर थप कानूनी प्रक्रियाको सामना गर्नेछन् । लामिछानेसहित ३ अभियुक्तविरुद्ध लागेको आरोप भने अन्तिम फैसला आएपछि मात्रै पटाक्षेप हुनेछ ।

यसअघि जिल्ला प्रहरी कार्यालय, चितवनले १० दिनसम्म अनुसन्धान गरेर आइतबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्