रवि लामिछानेमाथि सम्पत्ती शुद्धिकरणमा पनि मुद्दा !



काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन कसुर अपराधका आरोपी तीनै जनाको बैंक खाता र खाताको विवरण माग्दै नेपाल प्रहरीले राष्ट्र बैंकलाई पत्र लेखेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले भदौ ४ गते नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै आत्महत्या दुरुत्साहन मुद्दाका प्रतिवादी टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता भन्ने नर्स रुकु कार्कीको बैंक खाता विवरण माग गरेको स्रोतले जनाएको छ ।

चितवन जिल्ला अदालतमा दर्ता अभियोगपत्रमा समावेश पत्रअनुसार तीनै प्रतिवादीहरुको नेपालका वाणिज्य बैंकहरुमा भएका खाता र तिनको विवरण माग गरिएको छ । सरकारी वकिलले अदालतमा बुझाएको मिसिलको सबुत प्रमाण क्रम संख्या ६६ मा पत्र पठाएको विवरण उल्लेख छ ।

चितवनको होटल कंगारुमा साउन २० मा आत्महत्या गरेका पत्रकार शालिकरामले मर्नुअघि बनाएको भिडियोमा प्रस्तोता रविसहित सिधाकुरा जनतासँगको टिमले करोडौं रकम उठाएको उल्लेख गरेका थिए । रविले ठूला व्यापारी र तस्करसँग रकम असुलेको र आफूलाई थोरै रकम दिएको आरोप लगाएका थिए ।

यो बाहेक उनले मासिक १५ लाख रुपैयाँ अमेरिका पठाउने गरेको विषय सार्वजनिक भएपछि प्रहरीले उनको बैंक खाता तथा कारोबार खोजबिन सुरु गरेको दैनिक नेपालमा समाचार छ । मृतकले भिडियोमा बोलेको विवरणको सत्यता जाँच्न राष्ट्र बैंकलाई पत्र लेखेको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी दिपक रेग्मीले जनाएका छन् ।

प्रहरीले राष्ट्र बैंकले विवरण उपलब्ध गराएपछि शालिकरामले भनेअनुसार रविको खातामा स्रोत नखुलेको रकम भेटिए सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागलाई समेत कारवाहीका लागि पत्र लेख्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्