नेकपा सचिवालय बैठकको निर्णय : पार्टी सदस्यविरुद्ध सार्वजनिक रुपमा व्यक्तिगत टिप्पणी गरे कारवाही



विप्लव समूह र समाजवादी पार्टीबाट आएका चारजनालाई जिम्मेवारी

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिङ्गापुर रहेका बेदा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकले कार्यकर्ताले पार्टीका अन्य सदस्यको सार्वजनिक आलोचना गर्न नपाउने निर्णय गरेको छ ।

पार्टी मुख्यालय धुम्बाराहीका आज बसेको सचिवालय बैठकले सदस्यहरुले आफ्ना कुरा पार्टी्भित्र मात्रै उठाउनुपर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सार्वजनि रुपमा व्यक्तिगत टिप्पणी गरेमा कारबाही हुने बैठकले निर्णय गरेको छ । ‘हाम्रो पार्टीको नेता, कार्यकर्ता वा अन्य सदस्यहरुको बारेमा पार्टीको केन्द्रदेखि तलसम्मका कुनै सदस्यहरुले कुनै कुरा व्यक्तिगत रुपमा उठाउनुपरेमा त्यसलाई पार्टीभित्र तथ्यसंगत ढंगले आफूलाई लागेका कुराहरु उठाउनुपर्ने छ’, बैठकको निर्णय सुनाउँदै प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीभित्र छलफलको विषय बनाउनुपर्ने छ।’

उनका अनुसार, पार्टीभित्र कुरा नराखी सार्वजनिक रुपमा लगिएमा स्पष्टीकरणको प्रक्रिया अगाडि बढाउँदै आवश्यक कारबाही गरिनेछ । गत बिहीबार बसेको नेकपा सचिवालय बैठकका केन्द्रीय सदस्य एवम् प्रेस संगठनका इन्चार्ज राजेन्द्र गौतमले सचिवालय सदस्य माधव नेपालको विरूद्धमा लेखेको फेसबुक स्ट्याटस र बुधबार साप्तहिकले छापेको समाचारबारे ओली र नेपालबीच चर्काचर्की भएको थियो । त्यसअघि पनि पूर्व एमाले र पूर्व माओवादीका नेकपाका केन्द्रीय सदस्यहरु सामाजिक सञ्जालमै बाझाबाझ गर्दै आएका थिए ।

यसैगरी बैठकले चार जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । यससँगै नेकपाको केन्द्रीय सदस्यको आकार ४ सय ४५ भएको छ । अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकले विप्लव समूह र समाजवादी पार्टी छोडेर आएकाहरुलाई नेकपामा केन्द्रीय सदस्यको जिम्मेवारी दिएको हो । मनोनित हुनेहरुमा समाजवादी पार्टी नेपाल परित्याग गरी नेकपामा प्रवेश गरेका देवेन्द्र पराजुली र कल्पना धमला, विप्लव नेतृत्वको नेकपा परित्याग गरी नेकपामा आएका पदम राई र किरण राई रहेका छन् । पार्टीको विधानमा पार्टी एकता प्रक्रियामा सामेल भएका मध्येबाट प्रतिशतसम्म केन्द्रीय सदस्यमा समावेश गर्न सकिने भन्ने प्रावधान रहेकाले उनीहरुलाई मनोनीत गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्