चितवनमा कर्फ्यु : पाँच जना भन्दा बढी समूहमा हिँड्न प्रतिबन्ध



चितवन– टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने लगायतको मुद्दामा बयान लिने कार्य जारी रहेका बेला जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिका वडा नं. १० स्थित अनुसन्धान, अभियोजन र न्यायिक कार्यालय आसपास निषेधाज्ञा जारी गरेको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय चितवनले प्रकाशन गरेको सूचना अनुसार जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न निषेध गरेको छ । निषेधााज्ञ आज बिहान ६ बजेदेखि लागू भएको छ । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतद्वारा जारी आदेशमा ‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनसम्बन्धी अनुसन्धान, अभियोजन र न्यायिक निरुपणका सिलसिलामा न्यायिक हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलगायतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीबाट अशान्ति हुन सक्ने देखिएको उल्लेख छ । जसका कारण पाँच जनाभन्दा बढी एकै स्थानमा जम्मा हुन नपाउने आदेश जारी गरेको हो ।

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा आइतबार साँझ केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । झडपका क्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालासहित ११ जना प्रहरी घाइते भएका थिए । सो क्रममा १० जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामिछाने र युवराज कँडेलको आज चितवन जिल्ला अदालतमा बयान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्