आजपनि छुटेनन् रवि लामिछाने : थुनछेक बहस सोमबार हुने



चितवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, सहकर्मी युवराज कँडेल र अस्मिता भनिने रुकु कार्की विरुद्ध आज जिल्ला अदालत चितवनमा मुलुकी अपराध संहिताको दफा १८५ अन्तर्गत मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले रवि लामिछाने, उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको निष्कर्ष निकाल्दै उनीहरू तीन जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा १८५ अन्तर्गत मुद्दा चलाउन सिफारिस गरेकोपछि मुद्दा दर्ता भएको हो । त्यसरी आत्महत्या गर्नुअघि उनले आफ्नो मोबाइल फोनमा लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै खिचेको भिडिओ सार्वजनिक भएको र मृतक लामिछानेकी पत्नीले किटानी जाहेरी दिएपछि लामिछाने, कँडेल र कार्की अनुसन्धानको दायरामा परेका थिए ।

त्यसपछि तीन जनालाई प्रहरीले काठमाण्डूबाट पक्राउ गरी अनुसन्धानका लागि चितवन लगेको थियो । दोस्रो पटक थपिको पाँचदिने म्याद सकिएपछि आइतवार बिहान लामिछानेसहित अन्य दुई जनालाई अदालतमा उपस्थित गरिएको थियो । मुद्दा दर्ता भइसकेपछि चितवन जिल्ला अदालतले अभियुक्तहरूको थुनछेक बयान लिन सुरु गरेको छ । बयानका आधारमा उनीहरूलाई थुनामा राख्ने, धरौटीमा वा साधारण तारेखमा छोड्ने निर्णय हुनेछ । आइतवार अभियुक्त अस्मिता कार्कीको बयान सकिएको र सोमवार बिहान १० बजे लामिछाने र कँडेलसँग बयान लिइने अदालत स्रोतले जनाएको छ । आत्महत्या दुरुत्साहनको अभियोग प्रमाणित भएमा अभियुक्तहरूलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्