पत्रकार शालिकराम पुडासैनी प्रकरणमा प्रहरीको अनुसन्धान सकियो



रवि लामिछानेसहित ३ जनाविरुद्ध मुद्दा दर्ताको तयारी

चितवन– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा प्रहरीको अनुसन्धान प्रक्रिया पूरा गरी मुद्दा दर्ताको तयारी गरेको छ । प्रहरीले अनुसन्धानसहितको राय प्रतिवेदन मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

प्रहरीले आत्महत्या र आत्महत्याका लागि दुरुत्साहन गरेको भन्ने विषयमा विभिन्न पक्षबाट प्रमाणसहित मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको हो । प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले अभियोग पत्र अदालतमा पेश गर्नेछ । घटनाको अनुसन्धान गरिरहेका सिआइबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आजै पत्रकार सम्मेलन गर्दै आत्महत्या दुरुत्साहन अभियोग अन्तरगत रहेर नै अनुसन्धान पुरा गरेको जानकारी दिँदै सोही अनुरुप अदालतमा पेश गर्न लागिएको बताए ।

उनले अनुसन्धानका सबै विवरण सरकारी वकिल कार्यालयमा पठाइ सकिएको र आजै अभियोग पत्र दायर गर्न लागिएको जानकारी दिएका छन् । अदालतमा आजैदेखि थुनछेक बहस सुरु हुने बताइएको छ । जाहेरीवालाको तर्फबाट पाँच जना अधिवक्ताले बसह गर्ने तयारी छ । प्रतिवादीका तर्फबाट शुसिल पन्त, सुनिल पोखरेल र चुडामणी सापकोटाले बहस गर्नेछन् ।
उता आज बिहान कार्यालय समय सुरु भएको केही समयपछि चितवनको हिरासतमा रहेका रवि लामिछाने, ‘रुकु’ भनिने अस्मिता कार्की र युवराज कँडेललाई प्रहरीले जिल्ला अदालत पुर्‍याएको छ ।
सरकारी वकिलको कार्यालय तीन जनाको बयान र अन्य प्रमाणहको रुजु गर्दै सम्भव भएसम्म आजै मुद्दा दायर गर्ने तयारीमा रहेको स्रोतले जानकारी दिएको छ । लामिछानेसहित पक्राउ परेका विरुद्ध मुलुकी संहिताको आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा मुद्दा दायर हुनेछ । यो अभियोग प्रमाणित भएमा ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्