‘अध्यक्ष’ पद कै विवादका कारण राप्रपा एकीकरण अनिश्चित



काठमाडौं– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी संयुक्त अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पाटी (संयुक्त) बीचको एकता पर धकेलिएको छ । राजधानी दैनिकले खबर छापेको छ ।

राप्रपा उच्च स्रोतका अनुसार एकतापछिको दलमा अध्यक्ष कति जना रहने भन्नेमा कुरा नमिल्दा तत्कालका लागि एकीकरणको सम्भावना टरेको हो । स्रोतका अनुसार राप्रपाले एकतापछिको दलमा दुई अध्यक्षको प्रस्ताव गरेको छ भने राप्रपा संयुक्तले तीन अध्यक्ष रहने गरी प्रस्ताव गरेको छ । राप्रपा संयुक्तका अध्यक्ष राणाले भने पदका विषयमा कुनै छलफल नै नभएको भन्दै पहिले आन्तरिक समायोजन सकेर मात्रै अन्य दलसँग एकताको पहल हुने बताए ।

‘हाम्रो दल पनि भर्खरै एकीकरण भएको हो, पहिले आन्तरिक समायोजन सक्छौं । अनि मात्रै अन्य दलसँग एकता हुन्छ । पदका विषयमा कुरा भएको छैन,’ अध्यक्ष राणाले भने । उनले एकताका विषयमा राप्रपा अध्यक्ष थापासँग कुनै कुराकानी नभएको तर भेट भने भएको बताए । ‘एकताकै विषयमा कुनै छलफल भएको छैन । भेटघाट त भइरहन्छ,’ राप्रपा (संयुक्त) अध्यक्ष राणाले थपे ।

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने दुवै अध्यक्षबीच केही समयअघि एकीकरणको विषयमा वार्ता भएको तर राप्रपा (संयुक्त) नेतृत्वको इच्छाशक्ति नहुँदा एकता तत्कालका लागि धकेलिएको बताए । उनले पार्टी एकताका विषयमा नीतिगत तथा सैद्धान्तिक मुद्दामा भने सहमति भइसकेको जनाए ।

प्रतिक्रिया दिनुहोस्