कसरी उपचार गरिँदै छ सिंगापुरमा प्रधानमन्त्री ओलीको ?



काठमाडौं– प्रधानमन्त्री ओलीको सिंगापुरस्थित न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा उपचार प्रक्रिया थालिएको छ । उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे आम जनताले समेत चाखेका बेला प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माले भने सिंगापुरमा प्रधानमन्त्रीको नियमित उपचार प्रक्रिया थालिएको र उहाको अवस्था सामान्य रहेको जानकारी दिएको राजधानी दैनिकले खबर छापेको छ ।

डा. शर्माका अनुसार एन्टिबडी शरीरबाट हटाउने प्रक्रिया सुरु भएको छ । ‘उहाँको उपचार प्रक्रिया सुरु भइसकेको छ र उहाँ पूर्ण रूपमा खतरामुक्त हुनुहुन्छ,’ शर्माले राजधानीसँग भने । प्रधानमन्त्रीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार थालिएको डा. शर्माले जानकारी दिए । मिर्गाैला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले प्रधानमन्त्री ओलीको ट्रान्सप्लान्ट गरिएको मिर्गौला बिस्तारै कमजोर भएको बताए । उनले भने, ‘ट्रान्सप्लान्ट गरिएको किड्नी बिस्तारै कमजोर भएपछि प्रधानमन्त्री ओलीलाई सिंगापुर लगिएको हो । त्यसपछि पहिलो चरणको उपचार सुरु भयो । पहिलो चरणमा भएको उपचारबाट प्रधानमन्त्रीमा के सुधार भयो ? कस्तो अवस्था छ ? यसबारे जान्न सिंगापुर जानुपरेको हो ।’

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले उपचार विधिबाट प्रधानमन्त्री सामान्य अवस्थामा आउने या पुनः मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भन्ने निक्र्योल हुने बताए । उनले भने, ‘उहाँका मुटु, फोक्सोलगायतका अंग स्वस्थ छन् । उहाँको शरीरमा इन्फेक्सन पनि भएको छैन । तसर्थ, मिर्गाैला प्रत्यारोपण गर्नुपरे पनि प्रधानमन्त्री सक्षम हुनुहुन्छ । सजिलै प्रत्यारोपण हुन सक्छ ।’ केही देशका विशिष्ट अस्पतालमा ७५ वर्षमा पनि शरीर स्वस्थ भए मिर्गौला प्रत्यारोपण सम्भव हुने मिर्गाैला रोग विशेषज्ञले बताएका छन् । प्रधानमन्त्री ओलीको मिर्गौलाले विगतमा ६० प्रतिशत बढी काम गरे पनि अहिले ३० प्रतिशतले काम गर्दै आएको चिकित्सकको भनाइ छ ।

करिब १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएपछि उनी यसअघि १८ साउनमा सिंगापुर गएका थिए । उनले १८ देखि २७ साउनसम्म सिंगापुरमा उपचार गराएका थिए । उपचारका क्रममा ओलीको मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा केही बढी देखिएको थियो । एन्टिबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिनुपर्ने चिकित्सकको सल्लाहअनुसार प्रधानमन्त्री ओली पुनः गत बिहीबार सिंगापुर पुगेका हुन् । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य र निजी चिकित्सक डा. दिव्यासिंह शाह छन् । डा. शर्माले एन्टिबडी बन्ने प्रक्रिया रोक्ने र बनेको एन्टिबडिज शरीरबाट बाहिर निकालिने बताए ।

व्यक्तिको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलाविरुद्ध शरीरले उत्पादन गरेको हानि गर्ने तत्वलाई एन्टिबडी भनिन्छ । त्यसले प्रत्यारोपण गरेको मिर्गौलालाई हानि पुर्याउँछ । क्रिएटिनिन बढ्नु भनेको शरीरले एन्टिबडी बनायो भनेर बुझ्नुपर्छ । अधिकांश एन्टिबडी मिर्गाैला प्रत्यारोपण गरेका व्यक्तिमा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्