अमेजन जंगलको डढेलो : गम्भिर संकटमा २० प्रतिशत अक्सिजनको स्रोत



‘हर्ट अफ अक्सिजन’ भनेर चिनिएको अमेजन जंगल यतिबेला दनदनी बलिरहेछ । आगोको विशाल लप्काले नौ देशमा फैलिएको अमेजनको ठूलो हिस्सालाई खरानी बनाइरहेछ । डढेलोको धूँवाले ब्राजिलमात्रै नभएर अन्य देशलाई पनि प्रभावित गरिरहेको छ ।

विशाल अमेजन जंगलमा हजारौं ठाउँमा डढेलो लागिरहेको छ । कतिपय डढेलो कोसौं टाढाबाट देख्न सकिन्छ, आगोका विशाल लप्का उठिरहेको छ । यति ठूलो र धेरै ठाउँमा डढेलो लागेको छ कि त्यसले समग्र विश्वकै पर्यावरणलाई असर गर्ने चिन्ता विश्वव्यापी बनेको छ ।

विश्वको कूल अक्सिजनमध्ये २० प्रतिशतको स्रोत अमेजन जंगल हो । यो विश्वकै ठूलो जंगल हो । तर पछिल्ला केही दशक अमेजन जंगल तिव्र गतिमा फँडानी भइरहेछ । वन विनासलाई डढेलोले झन् विकराल बनाएको छ । अहिलेको डढेलो मानिसले सिर्जना गरेको समस्या हो वा प्राकृतिक विपत्ति, यसै विषयमा अन्तर्राष्ट्रिय जगतमा ठूलो बहस भइरहेछ ।

अमेजन जंगलको ठूलो हिस्सा ब्राजिलमा पर्छ । ब्राजिलका अमेजोनाज, एकरे, रान्डोनिया, रोराइमा पारा र माटो ग्रोसो तथा पेरुका सीमावर्ती क्षेत्र डढेलोबाट अत्यधिक प्रभावित छन् । डढेलोले विश्वलाई नै प्रभाव पारिहेको छ किनकी ‘ग्लोबल वार्मिङ’बाट विश्वलाई बचाउने सामथ्र्य कसैले राख्छ भने त्यो अमेजनको जंगल हो ।

ब्राजिलको नेशनल इन्ष्टिच्युट अफ स्पेश रिसर्चका अनुसार यसवर्ष ७२ हजार भन्दा बढि ठाउँमा डढेलो लागेको छ । यसमा साना–ठूला सबै डढेलो समावेश छ । बीबीसीका अनुसार विगतभन्दा यो वर्ष अमेजनमा डढेलोका घटनामा करिब ८३ प्रतिशत वृद्धि भएको छ ।

तस्करहरुको षडयन्त्र वा प्राकृतिक :

कतिपय जानकारहरु काठ तथा अन्य विभिन्न प्राकृतिक सम्पदाका तस्करहरुले आफ्नो पदचिन्ह लुकाउन डढेलो लगाएको आरोप लगाउँछन् । ब्राजिलको अमेजोनाज राज्यमा केही दिनअघि सुरुमै डढेलोका कारण संकटकाल घोषणा गरिएको थियो ।

अमेजनको डढेलोबाट केवल ब्राजिलमात्रै होइन, अमेजनको जंगल पर्ने सबैजसो देश प्रभावित भएका छन् । ब्राजिलका माटो ग्रासो र पारामा डढेलोका घटना सबैभन्दा बढि देखिएको छ ।

अमेजन जंगल खुम्चँदै जानुको मुख्य कारण खेतिपातीका लागि जमिन विस्तार नै हो । खेतिका लागि जंगल फडानी भइरहेछ, यस्तो कार्यमा स्थानीय काठ माफियाहरु पनि संलग्न भएको विश्वास गरिन्छ । त्यसैले अमेजनमा प्राकृतिक रुपमा थोरै र षडयन्त्रका कारण धेरै डढेलो लाग्ने गरेको दाबी गर्नेहरु पनि छन् ।

गर्मीयाममा जंगलमा प्राकृतिक कारणले डढेलो लाग्नु सामान्य घटना हुनसक्छ, तर अन्य याममा पनि भीषण डढेलो लाग्छ भने मानवीय कारण नै हो ।

ब्राजिलका राष्ट्रपति कति दोषी :

जानकारहरु ब्राजिलमा पर्ने अमेजनको भागमा डढेलो लाग्नु पछाडि ब्राजिली राष्ट्रपति जायर बोल्सोनारोको नीति दोषी रहेको बताउँछन् । उनको कार्यकालमा जंगल क्षेत्रमा कोइला धेरै भेटिएको छ । वन विनाश बढेको छ । जायर स्वयम् पनि यसलाई अस्विकार गर्दैनन् । उनको दाबी खेतीका लागि जमिन तयार गर्न लागिएको भन्ने छ । उनी आफ्नो नीतिलाई सही मान्छन् । यहीकारण जुन अधिकारीले अमेजन जंगल मासिंदै गएको रिपोर्ट तयार गरेका थिए, उनलाई राष्ट्रपतिले जिम्मेवारीबाटै हटाइदिए ।

त्यस रिपोर्टमा वन फडानीले हुने नोक्सानी पनि उल्लेख थियो । जायरका अनुसार सो रिपोर्ट उनलाई बदनाम गर्न तयार गरिएको हो । यसमा विपक्षीको षडयन्त्र रहेको उनी बताउँछन् । अमेजनको मुद्दा उछालेर विपक्षीहरुले जनतासामु सरकारको छवी बिगार्न खोजेको उनको दाबी छ ।

अनुसन्धानकर्ता अबलेता सेत्जेर जंगलमा डढेलो लाग्नुको कारण प्राकृतिक होइन भन्छन् । ‘डढेलो सधैं मानिसले नै लगाउँछ,’ उनी भन्छन्, ‘यत्ति हो अन्य मौसमको तुलनामा गर्मीमा यो चाडैं फैलन्छ ।’

नौ देशमा फैलिएको अमेजन

ब्राजिल, पेरु, कोलम्बिया, भेनेजुयला, इक्वेडर, बोलिभिया, गुयाना, सूरीनाम र फ्रेन्च गुयाना गरी नौ देशमा फैलिएको अमेजन संसारकै सबैभन्दा धेरै वर्षा हुने जंगल हो । त्यसैले यसलाई अमेजन रेनफरेस्ट पनि भनिन्छ । यो जंगलमा हजारौं प्रजातिका वनस्पति पाइन्छ । जंगलमा हजारौं वर्ष पुराना रुख छ । यहाँ त्यस्ता धेरै किरा–फट्यांग्राहरु लुकेर बसेको आकलन गरिन्छ, जसको पहिचान अहिलेसम्म भएको छैन ।

अमेजन जंगल यहाँ बसोवास गर्ने आदिवासीका कारण पनि प्रसिद्ध छ । यहाँ करिब ४ सय थरी आदिवासी समुदाय बस्छन् । यीमध्ये धेरै त्यस्ता पनि छन्, जसको बाहिरी दुनियाँसँग कुनै सम्बन्ध नै छैन । यहाँ बस्ने जनजाति आज पनि परम्परागत जीवन बाँच्छन् ।

यहाँ करिब २५ लाख प्रजातिका कीरा तथा दुई हजारभन्दा बढी प्रजातिका पशुपंक्षी बसोवास गर्ने गरेको अनुमान छ । त्यस्तै करिब ४० हजार प्रजातिका ती सय ९ अर्ब रुख, २२ सय प्रजातिका माछा, तीन सय ७८ प्रजातिका छेपारा, चार सय २८ प्रजातिका भ्यागुता लगायत विभिन्न प्राणीहरुको बसोबास छ ।

यी सबै प्राणी तथा वनस्पति डढेलोका कारण खतरामा छन् । डढेलोमा हजारौं हजार पशुपंक्षी मारिइसकेका छन् । लाखौं रुख खरानी बनेको छ भने डढेलोको धूँवाले विश्वव्यापी पर्यावरण प्रभावित हुने चिन्ता बढ्दो छ । ९एजेन्सीको सहयोगमा०

प्रतिक्रिया दिनुहोस्