देश कम्युनिष्ट शासन व्यवस्थातर्फ अघि बढिसकेको छ : देउवा



सुर्खेत– नेपली काँग्रेसका सभापति शेरबहादुर देउवाले देश कम्युनिस्ट शासन व्यवस्था तर्फ तिर अघि बढेको बताएका छन् । सुर्खेतमा शुक्रबार आयोजित पार्टीको प्रादेशिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले साम्राज्यवादी शैली अंगिकार गरेको समेत आरोप लगाएका छन् ।

विचार तथा अभिव्यक्ति स्वतन्त्रा, प्रेस स्वतन्त्रता, राजनीतिक अधिकारजस्ता लोकतन्त्रका आधारभूत मान्यतामाथि धावा बोल्दै सरकार अघि बढेको बताउँदै देउवाले भने– ‘जताततै डर–त्रास छ, पत्रकारले समेत स्वतन्त्रपूर्वक लेख्न पाउने अवस्था छैन,’ मा उनले भने, ‘अरू त अरू, मानव अधिकार आयोगमाथि समेत हस्तक्षेप भएको छ । अब कहाँ रह्यो लोकतन्त्र ?’ सरकारको कार्यशैलीले देशमा खतराको संकेत गरिरहेको उनले बताए ।

सभापति देउवाले यस्तै अवस्थाबाट देश अघि बढे कांग्रेसले पूर्ण लोकतन्त्रका लागि अन्तिम लडाइँ लड्नुपर्ने अवस्था आउन सक्ने बताए । २००७ सालयताका हरेक आन्दोलन पूर्ण लोकतन्त्रका लागि भए पनि त्यसअनुरूप जनताले प्रत्याभूति गर्न नपाएको उनको भनाइ थियो । पूर्ण लोकतन्त्रका लागि संघीय गणतन्त्र ल्याए पनि सरकारले संघीयता र गणतन्त्रमाथि नै धावा बोलिरहेको भनाइ उनको थियो । ‘अब कम्युनिस्टलाई सदाका लागि सिध्याउनुपर्नेछ,’ उनले भने, ‘अन्तिम लडाइँका लागि तपाईंहरू तयार रहनुहोला ।’

सभापति देउवाले अर्को प्रसंगमा आफ्नै पार्टीमा अनुशासनहीनता मौलाउँदै गएकोमा चिन्ता व्यक्त गरे । अनुशासनहीन काम गर्ने जोकोहीलाई कारबाही गरिने पनि उनले बताए । ‘जुन पार्टीमा अनुशासन छैन, त्यो कसरी चल्छ ?’ प्रदेशभरका महाधिवेशन प्रतिनिधि र अगुवा कार्यकर्ताले खचाखच हलमा उनले भने, ‘अनुशासनहीनलाई कारबाही गर्नका लागि सहमति आवश्यक पर्दैन । प्रमाणका आधारमा कारबाही अघि बढाइन्छ ।’ चुनावी पराजयलाई बिर्सेर एकताबद्ध भई अघि बढ्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।

केन्द्रीय सदस्य जीवनबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र नेता पूर्णबहादुर खडकालगायतले पार्टीलाई गुटमुक्त बनाउँदै आगामी निर्वाचनमा ‘एक नम्बर’ पार्टी बनाउने गरी संगठन निर्माणमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्