मन्त्री पण्डितको एक्सनमा : प्रशासन क्षेत्रमा नयाँ तरंग



काठमाडौं– सरकारले आधा दर्जन बढी विभागका महानिर्देशकहरूसहित ५६ जना भन्दा बढी वरिष्ठ सचिवहरूको सरुवा गरेको छ । सरकारले केन्द्रमा कार्यरत रहँदै आएका विभिन्न मन्त्रालय, निकायका वरिष्ठ सहसचिव र विभागका महानिर्देशकहरूलाई एकैपटक प्रदेशका मन्त्रालयमा सरुवा गरेको राजधानी दैनिकले खबर छापेको छ ।

केन्द्रीय सरकारको महत्वपूर्ण निकायमा कार्यरत रहेका प्रशासन सेवामा २७, वन, कृषि, इन्जिनियरिङ र कानुनतर्फका सात–सात जना गरी ५६ जनाभन्दा बढी वरिष्ठ सहसचिवको एकैपटक सरुवा भएपछि निजामती क्षेत्रमा तरंग सिर्जना भएको छ । ६ महिनाभित्र सचिव बढुवा हुने लाइनमा रहेका र ६ महिनाभित्रै सेवा निवृत्त हुने अवस्थामा रहेका वरिष्ठ सहसचिवबाहेक अन्य सबैलाई योग्यताक्रमअनुसार नै सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेशका मन्त्रालयमा सचिव बनाएर पठाइएका सबै सहसचिवलाई हाल पाइरहेको सेवा–सुविधामा एक जना खरिदारले पाउने तलब बराबरको अतिरिक्त तलब वृद्धि हुने मन्त्रालयले जनाएको छ । उनीहरूलाई एक वर्षका लागि मात्रै सरुवा गरिएको हो । एक वर्षपछि उनीहरू बढुवा भएर केन्द्रीय मन्त्रालयमा सचिवकै रूपमा आउनेछन् । पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका मन्त्रालयमा केन्द्रमा रहेका वरिष्ठ सहसचिवलाई पठाउने निर्णय गरेसँगै वरिष्ठ सहसचिवहरू एकैपटक सरुवामा परेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले एकैपटक वरिष्ठ सहसचिवलाई प्रदेशमा पठाउने निर्णय गरेपछि केही मन्त्रीहरू असन्तुष्ट बनेका छन् । हाल केन्द्रका सहसचिवलाई प्रदेशमा सचिव बनाएर पठाउने प्रावधान रहँदै आएको छ । यसअघि प्रदेशका मन्त्रालयमा केन्द्रका कनिष्ठ सहसचिवलाई सचिव बनाएर पठाउँदा प्रदेश व्यवस्थापनमा विभिन्न समस्या परेको भन्दै सरकारले वरिष्ठलाई पठाउने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्