सरकारले लियो एक्सन : एकैपटक धेरै मन्त्रालयका सचिवहरुको हेरफेर

काठमाडौं, ५ भदौ– सरकारले विभिन्न मन्त्रालयका सचिव तथा प्रदेशस्थित प्रमुख सचिवलाई सरूवा गरेको छ ।
मन्त्रिपरिषद् बैठकले गरेका निर्णय बिहीबार सुनाउँदै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सचिवहरू सरूवा गरिएको जानकारी दिनुभयो ।
शिक्षा मन्त्रालयका सचिव खगराज बराललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरूवा गरिएको छ भने शिक्षामा महेशप्रसाद दाहाललाई पठाइएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रबाट माधव बेल्वासेलाई खानेपानी मन्त्रालय पठाइएको छ । उद्योग मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई संस्कृति पर्यटन मन्त्रालय सरूवा गरिएको छ ।
संस्कृति पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई सरूवा गरी सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ ।
जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सञ्जय शर्मालाई शिक्षा मन्त्रालय अन्तर्गत विज्ञान तथा प्रविधि हेर्ने गरी सरूवा भएको छ ।
भूमी व्यवस्था मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई महालेखा नियन्त्रक कार्यालय सरूवा गरिएको छ । राष्ट्रपति कार्यालयबाट विनोद केसीलाई श्रम तथा रोजगार मन्त्रालयको सचिव बनाइएको छ ।
विगेन्द्रराज शर्मा पौडेल सार्वजनिक खरिद अनुगमनबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरूवा गरिएको हो।
लोक सेवा आयोगबाट महेन्द्र गुरागाईंलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरूवा गरिएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा रहेका सचिव बैकुण्ठ अर्याललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ ।
सचिव रामप्रसाद थपलियालाई स्वास्थ्य मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ ।
प्रदेश नम्बर ५ मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव तीर्थराज ढकाललाई प्रधानमन्त्री कार्यालय सरूवा गरिएको हो।
प्रमुख सचिव रहेका आनन्दराज ढकाललाई लोक सेवा आयोग सरूवा गरिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका सचिव सूर्यप्रसाद गौतमलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा पठाइएको छ।
मन्त्रिपरिषद् कार्यालयका सचिव हरि पौडेललाई राष्ट्रपति कार्यालय पठाइएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।