प्रधानमन्त्री र शिक्षामन्त्री सम्मिलित बैठकले तोक्या चार विश्वविद्यालयका कामु उपकुलपति



काठमाडौं– सरकारले त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा कामु उपकुलपति तोकेको छ । चारवटै विश्वविद्यालयका उपकुलपतिहरूको म्याद सकिएपछि प्रधानमन्त्री र शिक्षामन्त्री सहितको बैठकले कामु उपकुलपतिहरू तोकेहो हो ।

कुलपति एवम् प्रधानमन्त्री, सहकुलपति एवम् शिक्षामन्त्रीसहितको बैठकले सम्बन्धित विश्वविद्यालयको पदाधिकारीमध्येबाट कामु उपकुलपतिको जिम्मेवारी दिएको हो । बैठकबाट त्रिभुवन विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा रेक्टर सुधा त्रिपाठीले पाएकी छन् । बैठकले संस्कृत विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा रेक्टर रमेश ढकाललाई र पूर्वाञ्चलको कामु उपकुलपतिको जिम्मा सिनियर डिन विजुकुमार थपलियालाई दिएको छ ।

यस्तै कृषि तथा वन विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा सिनियर डिन शारदा थपलियालाई दिइएको छ । बैठकले त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको सर्च कमिटीको म्याद २० गतेसम्म थप गरेको छ । यसैगरी कृषि तथा वन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग गठनका लागि सर्च कमिटी गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्