अहिलेसम्मकै ठूला भ्रष्टाचारी सार्वजनिक गर्दै अख्तियार



१ सय ४० जनामाथि अनुसन्धान

काठमडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन् । आयोगले १ हजार ५ सयभन्दा उजुरीको विस्तृत अनुसन्धान गरिरहेको छ । अनुसन्धानले इतिहास ‘ब्रेक’ गर्ने अवस्था रहेको प्रमुख आयुक्त घिमिरेको भनाइ छ ।

अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारीहरू सार्वजनिक हुने प्रमुख आयुक्त घिमिरेको दाबी छ । उनले छिट्टै ठूला भ्रष्टाचारी सार्वजनिक गरिने बताए पनि त्यसको मितिबारे भने केही नखुलाएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

ललिता निवास प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको उनले जनाए। अनुसन्धानमा जोसुकै परे पनि नछाडिने उनले स्पष्ट पारे। उनले वाइडबडी प्रकरणमा पनि अनुसन्धान भइरहेको उनले सुनाए। उनका अनुसार शिक्षा क्षेत्रको अवस्था भयावह छ। ‘प्राध्यापक नै स्टिङ अपरेसनमा परेका छन्’, उनले भने, ‘कसैलाई गोल्ड मेडलिस्ट हुने रहर चल्छ। त्रिविका कर्मचारी घुस खाएर त्यस्तै गरिदिन्छ। यसले हाम्रो शिक्षा क्षेत्रलाई कहाँ पुर्‍याउँछ ? ’

उनका अनुसार ५० भन्दा बढी अलपत्र ठेक्काको अनुसन्धान भइरहेको छ। अलपत्र ठेक्का संख्या भने १ हजार ८ सय ४८ छ। यसबाट १ खर्ब १८ अर्ब रकम जोखिममा छ। २४ अर्ब रुपैयाँ मोबिलाइजेसनबापत ठेकेदारले लगेका छन्। ‘चार महिनाका लागि ठेक्का भएको छ तर आठ वर्षसम्म पनि काम सकिएको छैन’, उनले भने, ‘विकास निर्माणको हेलचेक्र्याइँको भयावह तस्बिर छ। सबैको अनुसन्धान त सम्भव छैन तर हामीले ५० भन्दा बढीको अनुसन्धान गरिरहेका छौं।’

प्रतिक्रिया दिनुहोस्