बालुवाटामा सर्वदलीय बैठक : संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरू सहभागि



काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक जारी छ । प्रधानमन्त्री अ‍ेपी शर्मा ओलीले आव्हान गरेको बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरु सहभागी छन् ।

बैठकमा बैठकमा प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, बाबुराम भट्टराई सहभागी छन् । नेकपाका शीर्ष नेतामध्ये माधवकुमार नेपाल भने बैठकमा सहभागी छैनन् ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, कानुन मन्त्री भानुभक्त ढकाल पनि सहभागी छन् । यस्तै, नेकपाबाट बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल उपस्थित छन् । काँग्रेसबाट उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरू बालकृष्ण खाँण, मीनेन्द्र रिजाल पनि सहभागी छन् ।

उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राजपा नेता महन्थ ठाकुर र अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवलगायत पनि बैठकमा सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको बताए पनि बैठकको एजेण्डाबारे जानकारी दिइएको छैन । खासगरी १४ मंसिरमा हुने उपनिर्वाचन तथा सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगमा नियुक्तिको विषयमा छलफल गर्न ओलीले बैठक बोलाएको बताइएको छ । यी दुवै आयोग गत फागुन महिनादेखि पदाधिकारीविहीन छन् ।

प्रतिक्रिया दिनुहोस्