रवि लामिछानेलाई थप ५ दिन थुनामा राखी छानविन गर्न अदालतको आदेश



चितवन– पत्रकार शालिकराम आत्महत्या काण्डको अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिएका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई थप पाँच दिन हिराशतमा राखी छानविन गर्न जिल्ला अदालत चितवनले म्याद थप गरेको छ ।

जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार लामिछानेसहित रुकु कार्की (अस्मिता) र युवराज कँडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले रविसहित तीन जनालाई दोस्रो म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । वादीको तर्फबाट जिल्ला न्यायधिवक्ता यदु शर्माले वहस गरेका छन् । प्रतिवादीका तर्फबाट अधिबक्ताहरु सुनिल पोखरेल, सुसिल पन्त र चुडामणी सापकोटाले बहस गरे ।

उनिहरूलाई शालिकराम पुडासैनी आत्महत्या दुरुसाहन मुद्दामा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । शुक्रबार चितवन जिल्ला अदालतले रविसहित तीनैजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको थियो । लामिछाने र कँडेललाई प्रहरीले बिहीबार साँझ न्युज २४ च्यानलको कार्यालय पानीपोखरीबाट पक्राउ गरेको थियो भने कार्की बिहीबार दिउँसो पक्राउ गरि प्रहरीले बिहीबार राति चितवन पुर्याएको थियो । तिनै जना विरुद्ध पुडासैनीकी पत्नी सम्झना पुडासैनीले आइतबार काठमाडौं प्रहरी परिसरमा पुगेर किटानी जाहेरी दिएकी छन् ।

पुडासैनीले आत्महत्याअघि आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि उनीहरु पक्राउ परेका थिए । उक्त भिडियो पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैं खिचेको पुष्टि भएको प्रहरीले जनाएको छ। पुडासैनीकै आवाजको भिडियो रहेको पुष्टिपछि थप अनुसन्धान गर्न लामिछाने, कार्की र कँडेललाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्