योजना आयोगका सुब्बाद्वारा सिंहदरबारभित्रै आत्महत्या : आफ्नै कारणले आत्महत्या गरेको सुसाइड नोट



काठमाडौं– राष्ट्रिय योजना आयोगमा कार्यरत नायव सुब्बा बच्चु के.सी.ले सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगभित्र आत्महत्या गरेका छन् । सोमबार राति कार्यालयमै मृत भेटिएका नायब सुब्बा केसीले सुसाइड नोटमा कसैका कारणले नभइ आफ्नै कारण आत्महत्या गरेको उल्लेख गरेका छन् ।
प्रहरीले उनले आत्महत्या गरेको स्थलमा सुसाइड नोट भेट्टाएको थियो । उनले सुसाइड नोटमा लेखेका छन्– ‘कसैका कारण आत्महत्या गरेको होइन । पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन्’ उनले लेखेका छन् । साथै, उनले नोटमा श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भनेर पनि उल्लेख गरेका अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिएका छन् । घटनास्थलमा पुगेका सिन अफ क्राइम (सोको) अफिसरले केसीको सुसाइड नोट संकलन गरेका छन् ।

यसलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइनेछ । उनको शव भेटिएको ठाउँ नजिकै धान, गहुँको बालीमा प्रयोग गरिने एक किसिमको किटनाशक औषधिको खोल भेटिएको छ । औषधिसँगै केराको बोक्रा पनि भेटिएकाले उनले केरामा मिसाएर विष सेवन गरेको आशंका गरिएको छ । मृतक केसी कीर्तिपुर नगरपालिका टौदहका हुन् ।

आयोगकै अनुगमन तथा मुल्यांकन हलमा नायव सुब्बा बच्चु केसी मृत अवस्थामा भेटिएका थिए । सोमबारै राति विष पिएर उनले आत्महत्या गरेको प्रारम्भीक अनुमान गरिएको छ । सिंहदरबार क्षेत्रमा जडान गरिएको सिसीटिभी क्यामेरामा उनी सोमबार राति साधरण पोशाकमा सिंहदरबार छिरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्