पार्टी एकताका बाँकी कार्य पूरा गर्न नेकपा सचिवालय बैठक बस्दै



काठमाडौँ,  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी एकताका बाँकी कार्य पूरा गर्नका लागि बैठक बस्न लागेको नेकपाका महासचिव बिष्णु पौडेलले जानकारी दिनुभयो  ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४:००  बजे बस्ने बैठकमा पार्टी एकताका बाँकी कार्य पूरा गर्ने विषयमा छलफल हुने बताइएको छ ।

यसअघि शुक्रबार ३२ केन्द्रीय विभागको जिम्मेवारी तोक्दै एकीकरण प्रक्रिया लगभग पूरा गरेको नेकपाको केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्युरो गठन, जनवर्गीय सङ्गठनका इञ्चार्ज र सहइञ्चार्ज निर्धारणको काम बाँकी छ ।

सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास सङ्गठनको एकता बाँकी रहेको छ । यसैगरी ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनलगायतका काम बाँकी छन् ।

अहिलेसम्म सचिवालय, स्थायी कमिटी, प्रदेश कमिटी, प्रदेश इञ्चार्ज, जिल्ला इञ्चार्ज र सहइञ्चार्ज, जनसङ्गठनका संयोजक र सहसंयोजक तथा जिल्ला र स्थानीय तह कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीको टुङ्गो लागेको छ । अधिकांश जिल्ला र स्थानीय तहका कमिटीले पूर्णता पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्