बलात्कार र लागुऔषध मुद्दाका कैदीले भरिदै जेल , कुन मुद्दाका कति कैदीबन्दी ? यस्तो छ विवरण



काठमाडौं, देशभरका कारागारमा रहेका आधाभन्दा धेरै कैदी जबर्जस्ती करणी (बलात्कार) र लागुऔषध मुद्दामा सजाय पाएका रहेका छन् ।


विभागका अनुसार मुलुकभर अहिले ७४ कारागारमा २१ हजार पाँच सय ७७ कैदीबन्दी छन् ।
कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार बलात्कार र लागुऔषध मुद्दाका मात्रै नौ हजार दुई सय ८९ कैदीबन्दी जेलमा छन् । यो संख्या कुल कैदीबन्दीको ४३.०५ प्रतिशत हो ।

बलात्कार र लागुऔषधबाहेक विभिन्न मुद्दाका १२ हजार दुई सय ८८ कैदीबन्दी छन् ।
कारागार क्षमताका आधारमा भने ६० प्रतिशत हिस्सा बलात्कार र लागुऔषध मुद्दाका कैदीले ओगटेका छन् ।
कर्तव्य ज्यान मुद्दाका कैदीको संख्या तीन हजार ६ सय ४२ छ । यो कुल कैदीबन्दीको १६।८७ प्रतिशत हो । त्यस्तै, डाँका र चोरी मुद्दाका एक हजार सात सय ९१ कैदीबन्दी कैद भुक्तान गरिरहेका छन् । यो कुल संख्याको ८।३ प्रतिशत हो । मानव बेचबिखन मुद्दाका पाँच सय ६०, अपहरण मुद्दाका चार सय १० र अपहरण तथा शरीर बन्धक मुद्दाका एक सय ९९ कैदीबन्दी विभिन्न कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् ।
मुलुकभरका ७४ कारागारको कुल क्षमता १५ हजार चार सय ६६ कैदी अटाउनेछ । तर, हाल २१ हजार पाँच सय ७७ कैदीबन्दी सजाय भुक्तान गरिरहेका छन् । कारागारको क्षमताभन्दा ६ हजार एक सय ११ कैदीबन्दी धेरै छन् ।

कुन मुद्दाका कैदीबन्दी कति ?

जबर्जस्ती करणी– ४,६५०
लागुऔषध– ४,६३९
कर्तव्य ज्यान– ३,६४२
डाँका–चोरी– ९२५
चोरी– ८६६
मानव बेचबिखन– ५६०
अपहरण– ४१०
अपहरण तथा शरीर बन्धक– १९९
अन्य– ५९८६

प्रतिक्रिया दिनुहोस्