अटोमेटिक पेस्तोल तथा गोली सहित पक्राउ

काठमाडौं, ३२ साउन – चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाईन्टबाट अटोमेटिक पेस्तोल २ थान र गोली २० राउण्ड सहित ललितपुर कोन्ज्योसम गाउँपालिका–२ बस्ने अन्दाजी २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा।२ ख १९८० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोला जाँच गर्ने क्रममा झोलाभित्र उक्त पेस्तोल तथा गोली लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो ।
साथै लामाको साथबाट उषा लेखिएको ९० एमएलको तेल रहेको बोतल २ थान, बाइनाकुलर १ थान, मोबाइल ५ थान तथा विभिन्न सम्पर्क नम्बरहरु भएको डायरी तथा कागजातहरु समेत प्रहरीले बरामद गरेको छ ।