नेकपाका लागि जुन योगदान मदन भण्डारी र पुष्पलालले दिनुभयो त्यहि योगदान केपी ओली र प्रचण्डले दिनुभयो : बाँस्कोटा



काभ्रे– नेकपाका केन्द्रीय सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेकपाका लागि जुन योगदान मदन भण्डारी र पुष्पलालले दिनुभयो त्यहि योगदान केपी ओली र प्रचण्डले दिएको बताउनुभएको छ ।

शनिबार बनेपामा आयोजित नेपाल निर्माण व्यवसायी संगठन काभ्रेको एकता भेलालाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले नेकपाका नेता कार्यकर्ताले अब पार्टीका लागि ओली र प्रचण्डको योगदान खोज्नु नहुने बताउनु भएको हो । नेकपा काभ्रेका इन्चार्ज समेत रहनुभएका बाँस्कोटाले ओली र प्रचण्डको योगदानले निर्मित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई जोगाउने दायित्व अब कार्यकर्तामा आएको बताउनुभयो ।

बाँस्कोटाले अबको एक सातामा काभ्रेको पार्टी एकताले गति लिने बताउँदै नेताको गुट भन्दा पनि क्षमता हेरेर कमिटि विस्तार गरिने बताउनु भयो उहाँले गुटको पछि लाग्ने नेता कार्यकर्ताले दुःख पाउने बताउँदै व्यक्तिको भन्दा पनि पार्टीको भएर अघि बढ्न कार्यकर्ताहरूलाई सुझाव दिनुभएको थियो ।

नेता बाँस्कोटाले जिल्ला पार्टी कार्यालयमा कार्यकक्ष राखेरै पार्टी र संगठन निर्माणमा सक्रिय हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘म मन्त्री भएर समय दिन भ्याईन भन्दिन, जिल्ला पार्टी कार्यालयमा कार्यकक्ष राखेर समय मिलाएर उपस्थित भएर काम गर्छु । जिल्ला अध्यक्ष र सचिवले पनि म सँग समन्वय गरी गतिविधिबारे मलाई जानकारी दिनुपर्छ । हामी सबै मिलेर छलफल गरेर पार्टीलाई अघि बढाउँछौं । अब गुट हेरिन्न, क्षमता र सक्रियता हेरेर अघि बढिन्छ ।’ नेता बाँस्कोटाले जिल्ला अध्यक्ष र सचिवलाई पनि एकता प्रक्रियालाई अघि बढाउन आफुसँग सम्पर्कमा रहन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेका अध्यक्ष रुकु चौंलागाईले गुट उपगुटका कारण काभ्रेमा पार्टी एकता हुन नसकेको बताउनुभयो । उहाँले पार्टी भित्र नेता तथा कार्यकर्ताहरू एमाले र माओवादीनै बन्ने तिर लागेको र पार्टीका नेताहरु नै जनप्रतिनिधि भएकोले पार्टी एकतालाई सार्थक बनाउन नसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्