कर्मचारीले बिल पास गर्न आलटाल गरे सरकारलाई सूचना दिनुहोस् ठाउँका ठाउँ कारवाही हुन्छ : मन्त्री बाँस्कोटा



काभ्रे (बनेपा)– नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले कर्मचारीले निर्माण व्यवसायीको बिल पास गर्न आनाकानी गरे ठाउँको ठाउँ कारवाही गर्ने बताउनुभएको छ ।

शनिबार नेपाल निर्माण व्यवसायी संगठन तीन नं. प्रदेश कमिटीले आयोजना गरेको काभ्रे जिल्लाको एकता भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मन्त्री बाँस्कोटाले निर्माण व्यवसायी चुस्त भएका कार्य सम्पादन गरी बिल पास गर्न जाँदा कर्मचारीले आनाकानी गरे सरकारलाई सूचना दिन आग्रह गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो– ‘यहाँ कर्मचारीले घुमाए भन्ने गुनासो पनि छ । सरकार भ्रष्टाचार विरुद्ध निर्मम् छ । अनुहार हेरिँदैन, कमरेड पनि भनिँदैन, मन्त्री पनि भनिँदैन, नेता पनि छोडिँदैन, युनियन पनि टेरिँदैन, त्यसो हुनाले तपाईंहरू पनि एउटा संकल्प गर्नुहोस्, नियम पुर्याएर जानुहोस्, विधि पुर्याएर जानुहोस्, आफु सहि भएर जानुहोस्, यदि कसैले गड्बड्को कुरा गर्छ भने तत्काल तपाईहरूले सरकारलाई सूचना दिनुहोस् । तिनिहरूलाई ठाउँका ठाउँ कारवाही गर्ने काम सरकारको ।’

हालै सरकारले ल्याएको सार्वजनिक खरिद ऐनका बारेमा निर्माण व्यवसायीले उठाएका सवालको जवाफ दिँदै मन्त्री बाँस्कोटाले ठेकेदारको कारण कतिपय ठाउँमा सरकारले गाली र जनताले सास्ती खेप्नुपरेको बताउँदै व्यवसायीको सुझाव र प्रतिक्रियालाई समेटेर ऐन संसोधन हुन सक्ने बताउनु भयो । मन्त्री बाँस्कोटाले अहिले एक छत्र रुपमा ठेक्कामा साज गरिरहेको केही ठेकेदारको कब्जामा देशभरीको योजना रहेको सुनाउँदै भन्नुभयो– ‘६ जना वा ७ जना निर्माण व्यवसायीको हातमा देशभरीका बाटाघाटा, पुलपुलेसा, खानेपानी, चौकी विमानस्थल रहँदा राष्ट्रिय पूँजीको निर्माण हुन्छ कि हुँदैन ? निर्माण व्यवसायमा केहीचाहिँ झुण्डिएर बस्ने र केही चाहिँ झुण्ड्याएर बस्ने परिपाटीको अन्त्य गर्न खोजिएको हो । अब नेपाली ठेकेदारले पनि आफ्नो क्षमता बृद्धि गर्नुपर्छ । ठूला निर्माणका काममा कन्सल्टेन्सी लगायको क्षमता अभिबृद्धि गरेर प्रतिष्पर्धामा आउन सक्नुपर्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै केही ठेकेदारका कारण सरकार नै असफल हुने अवस्था आएको र म्याद थप गर्ने परिपाटिले पुँजीगत खर्चमा कमि हुने गरेको बताउँदै ठेकेदारले आफुले लिएको काम समयमै सम्पन्न गरे सरकारको पुँजीगत खर्चमा बृद्धि हुने बताउनुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो– ‘निर्माण व्यवसायीले टेण्डर खरिद प्रक्रियाबाट र कानुनी प्रतिस्पर्धाबाट काम लिएर समयमै सम्पन्न गरे मात्र मुलुक निर्माण कार्य सम्पन्न हुन सक्छ । योजनाको म्याद गर्ने गर्दा आम जनतामा पनि यातना बढ्न जान्छ । निर्माण व्यवसायीले समयमा काम सम्पन्न गरे पुँजीगत खर्च बढ्छ ।’

कार्यक्रममा प्रनिनिधि सभा सदस्य गंगाबहादुर दोङ, नविना लामा, प्रदेश सभा सदस्य चन्द्र लामा, निर्माण व्यवसायी संगठनका केन्द्र तथा प्रदेश स्तरका नेताहरू, नेकपा काभ्रेकी अध्यक्ष रुकु चौलागाईं लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्यहरू लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, रत्न ढकाल लगायतको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्