नाट्यकर्मी एवं अभिनेत्री सुभद्रा अधिकारीको निधन



काठमाडौं– नाट्यकर्मी तथा वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । निर्देशक प्रकाश थापा निर्देशित फिल्म ‘मनको बाँध’ बाट चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएकी अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको हो । उहाँ लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो ।

काठमाडौंको असनमा वि.सं. २००३ सालमा गायिका नूरा देवीको कोखबाट जन्मिएकी अधिकारीको निजी निवास डल्लुमा शनिबार बिहान ८ बजे निधन भएको हो । शुभद्राले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसूत्र’, ‘आमा’, ‘आमाको माया’, ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत चलचित्रमा अभिनय गर्नुभएको छ ।

२०२१ सालमा कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह गर्नुभएकी अभिनेत्री अधिकारीको पहिलो नाट्य अभिनय ‘कची मचा’ हो । बालकृष्ण समको निर्देशनमा ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटक उहाँले अभिनय गर्नुभएको थियो । अधिकारीको पहिलो पटक नायिका भएर काम गरेको नाटक जगतमर्दन थापाको ‘पलाँसको फूल’ हो ।

निर्देशक प्रकाश थापा निर्देशित फिल्म ‘मनको बाँध’ अधिकारीको पहिलो फिल्म हो । यसमा उहाँले हरिप्रसाद रिमालकी पत्नीको भूमिका खेल्नुभएको छ । यो फिल्ममा अभिनय गर्दा अधिकारी २२ वर्षकी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्