नेकपाको सचिवालय बैठक सुरु,स्कुल विभागको विवाद टुङ्याइदै



काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।
साउन १३ गते यता बस्न नसकेको सचिवालय बैठक शुक्रबार बिहान साढे ११ बजे सुरु भएको हो। प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सचिवालय बैठकमा विभिन्न विभागको नेतृत्व चयन गरिने भएको छ। कुन विभागको नेतृत्व कसलाई दिने भन्ने विषयमा आज टुंगो लाग्ने बताइएको छ। यसअघि साउन १३ गते बसेको बैठकमा मुख्यगरी स्कुल विभागमा विवाद भएको थियो।

अन्य विभागमा करिबकरिब सहमती भएपनि स्कुल विभागमा भने सहमति हुन सकेन। उक्त विभाग पूर्वएमालेलाई परेको थियो जसमा सचिवालय सदस्य ईश्वर पोखरेलले दाबी गरेका थिए। पूर्वमाओवादी पक्ष भने उक्त विभागको नेतृत्वमा पोखरेललाई राख्न नहुने पक्षमा छ। उक्त विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र राम कार्कीलगायतले दाबी गरेका छन्।

आजको बैठकबाट पार्टीको पोलिटब्युरो गठन, केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन, जनवर्गीय संगठनको पूर्णता जस्ता विषयहरूमा निर्णय हुनसक्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्