धमाधम आत्महत्या गर्दै भ्रष्टचारका आरोपितहरु, यस्तो छ कारण



काठमाडौं/पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएका व्यक्तिहरुले आत्महत्या गर्ने क्रम बढेको छ । साउन महिनामा मात्रै अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएका तीनजनाले आत्महत्या गरे ।

साउन ३ गते त्रिभूवन विश्वविद्यालयको कर्मचारी भर्नामा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका परीक्षा नियन्त्रण कार्यालयका पूर्वकर्मचारी रामबहादुर पाण्डे, साउन १२ गते बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठ र साउन २६ गते मालपोत कार्यालय कलंकीमा कार्यरत रहेका बेला भ्रष्टाचार मुद्दा लागि निलम्बनमा परेका उदयपुरका हरिप्रसाद आर्चायले आत्महत्या गरेका हुन् ।

पाण्डेले त्रिपुरेश्वरस्थित राधा भवनको ६ तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् भने श्रेष्ठले माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको आठौँ तलाबाट हाम फालेर जीवनलिला समाप्त पारे।

उदयपुरका आचार्यले भने घर नजिकैको जंगलमा रुखमा भुण्डिएर आत्महत्या गरे । आचार्यले आत्महत्या गर्नुअघि अख्तियार प्रमुखलाई ‘दुई सय वर्ष बाँच्नु’ भन्दै सुसाइड नोट लेखेको फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुर स्रोतले भन्यो ।
अख्तियारमा मुद्दा परेका व्यक्तिहरुले धमाधम आत्महत्याको बाटो रोज्न थालेपछि मनोविदहरुले चिन्ता व्यक्त गरेका छन् । त्यसमा पनि एक महिना नबित्तै उस्तै प्रकृतिका तीनवटा आत्महत्याका घटना भएपछि मनोविदहरु झस्किएका हुन् ।

अख्तियारमा मुद्दा परेर छानबिनकै क्रममा रहेका व्यक्तिहरुले किन आत्महत्याको बाटो रोजेका होलान्? मनोविदहरु भने यो कमजोर मनस्थितिको उपज भएको बताउछन् ।

सामाजिक प्रतिष्ठा नांगिएको महसुस भएपछि यस्ता व्यक्तिहरु आत्महत्याको गोरेटोमा हिँड्ने गरेको उनीहरुको बुझाई छ ।
केही दिन अघि कञ्चनपुरका एक विद्यार्थीले मर्नुको कारण भन्दै आफ्ना एक शिक्षकको नाम सुसाइड नोटमा लेखेका पाइएपछि ति शिक्षकलाई पक्राउ गरेर अहिले कारबाहीको प्रक्रिया सुरु भएको छ ।

केही दिनअघि सत्तारुढ नेकपाका सांसद झपट रावलले दिनमा १० जना भ्रष्टाचारी मरेको सुन्न पाइए मात्रै मुलुक विकासको पथमा हिँड्न सक्ने अभिव्यक्ति दिएका थिए ।
भष्ट्रचारीलाई करिा परोस् भनेर नारा लगाउने नेपाली समाज आरोपितहरुले आत्महतयाको बाटो रोजेको देखेर भने अचम्म मानिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्