बयानका लागि अदालतमा उपस्थित हुन सांसद राजेन्द्र लिङ्देनलाई अदालतको आदेश



काठमाडौं– सांसद राजेन्द्र लिङ्गदेनलाई बयानका लागि अदालतमा उपस्थित हुन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी) मा दिएको उजुरीमा फौजदारी कार्यविधि संहिताको कार्यविधि पूरा नगरेपछि आइतबार न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले सांसद लिङ्गदेनले अदालत उपस्थित हुन आदेश गरेको हो ।

लिङ्गदेनले २०७६ बैशाख ३ गते अनुसन्धान अधिकारी समक्ष घटना विवरणको कागज गरेपनि अदालतमा वकिल मार्फत मात्र आएपछि आफै उपस्थित हुन बोलाएको हो। कागज गरिदिने व्यक्ति सरकारी साक्षी हुने र फौजदारी कार्य्विधि संहिता, २०७४ को दफा १०१ बमोजिम अनुसन्धान अधिकारी वा निजको कार्यालयले सरकारी वकीलको कार्यालयमार्फत अदालतमा बकपत्र प्रयोजनको लागि उपस्थित गराउनुपर्ने जिल्ला अदालतको आदेशमा उल्लेख छ।

प्रमाण ऐन, २०३१ को दफा १८ मा तहकीकात वा जाँचबुझका सिलसिलामा तयार भएका लिखतमा उल्लेख भएका कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान गरेमा मात्र प्रमाणमा लिन हुने कानूनी व्यवस्था भएकोले अदालत उपस्थित हुन सांसद लिङ्गदेनलाई भनिएको छ । झापा जिल्ला कचनकवल गाउँपालिकाका तीलकदास पराजुलीले सांसद् लिङदेनले पटक पटक धम्की दिएको भन्दै सिआइबीमा उजुरी गरेका थिए ।

प्रहरीले काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार र अपराधिक लाभ समेतको मुद्दा दायर गरेको थियो । तर, लिङदेन अदालतमा उपस्थित भएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्