निर्मला प्रकरण : अझै पनि खेम भण्डारी झुट बोल्दै जाने, मिडियाले त्यसलाई ठाउँ दिँदै जाने?



कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या तथा बलात्कार भएको एक वर्षपछि फेरि यो प्रकरण चर्चामा आएको छ। गएको मंगलबार साउन २१ गते रवि लामिछानेको ‘सीधा कुरा जनतासँग’ कार्यक्रममा साढे दुई घण्टा लामो बहस भयो यो इस्युलाई ट्विस्ट र टर्न गराउने खेम भण्डारी, घटनाको अनुसन्धान गर्न त्यहाँ गएका तत्कालीन सिआइबी टोलीका प्रमुख अंगुर जिसीबीच। कार्यक्रममा ‘होस्ट’को रुपमा सन्तुलित भूमिकामा प्रस्तुत नभएको भनी रविको आलोचना भयो। त्यसो त चितवनमा आफ्ना पूर्व सहकर्मीको मृत्यु र त्यसमा उनीप्रति लक्षित गरी अनलाइन र सामाजिक सञ्जालहरुमा आएका टिप्पणीहरुले उनलाई असर पारेको होला। तर साढे दुई घण्टा लामो बहस तथ्यमा केन्द्रित नभई विषयान्तर धेरै भएको महसूस मैले पनि गरेँ। यद्यपि यो बहसपछि ‘हत्यारा भिआइपी हो, सार्वजनिक गर्छु’ भन्दै आइरहेका खेम भण्डारीको विषयमा अझ धेरैले बुझ्ने मौका पाए। उनले न्युज २४ पछि काठमाडौँमा रहेका बेला अरु केही मिडियामा पनि अन्तर्वार्ता दिए। त्यसमा पनि उनले झुट फैलाए। विषयवस्तुबारे गहिरो ज्ञानको अभावमा कार्यक्रम प्रस्तोताहरु चुप बसे, अनि उनको झुट फैलाउनमा सहायक बने। यहाँ म उनले काठमाडौँ आएर गरेका केही झुटको बारेमा लेख्दैछु।

झुट नम्बर १ : सुरुवाल पखाल्ने प्रहरी जवानलाई बढुवा गरेर हवल्दार बनाइयो
रातोपाटी अनलाइनसितको अन्तर्वार्तामा खेम भण्डारीले घटनास्थलमा निर्मलाको सुरुवाल पखालेर यौनाङ्ग छोप्ने प्रहरी जवानलाई बढुवा गरेर हवल्दार बनाइएको बताए।

यो सही हैन।

तर उनले झुटलाई पनि एकदमै सत्य जस्तो गरेर बताएका छन्। उनको भाषामा त्यस्तो ‘प्रमाण नष्ट गर्ने’ लाई पुरस्कारै दिइएको हो कि जस्तो गरेर। त्यसैले त अपराधी भिआइपी हो भन्ने जस्तो पारेर।

उनले के भनेका थिए र सत्य के हो ? यो भिडियो हेर्नुस्-

उनको भनाईको एउटा अंश यस्तो छ-

ठूलो, एकदम पहुँच भएको हो बलात्कारी। किन भन्नुस् तपाईँ। अस्ति भर्खरै एउटा टेलिभिजनमा मेरो शो थियो। मलाई बोलाइएको थियो। त्यो टेलिभिजनमा चाँदनी साउद भन्ने प्रहरी, अहिले त हवल्दार भइसक्नुभो उहाँ, जवान हुनुहुन्थ्यो त्यतिबेला। पछि त्यसपछि तुरुन्तै बढुवा भयो होला के भयो होला। पहिला प्रहरी जवान हुनुहुन्थ्यो, अहिले प्रहरी हवल्दार भनिन्छ। उहाँले काम गरेवापतको पुरस्कार हो कि के हो मलाई थाहा छैन…

यति भन्दासम्म अन्तर्वार्ता लिने मान्छे चुप बसे। शायद् उनलाई सत्य के हो थाहा थिएन। प्रस्तोतालाई नै थाहा नभएपछि दर्शकलाई झन् के थाहा हुनु। यसो सुन्दा त अहो, हो नै जस्तो लाग्छ। प्रमाण नष्ट गरेको, त्यही भएर चाहिँ उसलाई तत्काल बढुवा गरिदिएको ! हैट, अपराधी त साँच्चिकै हो न हो भिआइपी नै होला।

खेम भण्डारीको विशेषता नै त्यही हो। उनी झुटलाई पनि सत्य झैँ लाग्ने गरी प्रस्तुत गर्न सक्छन्। त्यही भएर त यत्रो एक वर्षसम्म उनले पूरै देशलाई उल्लु बनाउन सके।

उनले भनेको यो कुरा सत्य होइन। झुट हो। त्यसो भए सत्य के हो त ?

म भन्छु नि सत्य के हो।

चाँदनी साउद जवान हुन्। अहिले पनि जवान नै छिन्। उमेरको जवान भनेको हैन, पदको जवान- प्रहरी जवान।

उनले प्रहरी जवान पदको नियुक्ति पाएको २०७२ वैशाख २७ गते हो। उनको सेवा अवधि बल्ल चार वर्ष पुग्यो। सामान्य अवस्थामा त कम्तिमा १० वर्ष लाग्छ भने निलम्बनको अवधिमा बढुवा हुने कुरै भएन।

हो, चाँदनी साउद निलम्बित छिन् अहिले। २०७५ असोज २२ गते लापरवाही गरेको आरोपमा प्रहरी जवान चाँदनी साउद र सिन अफ क्राइम (सोको) अफिसर हरसिंह धामी दुई जनालाई निलम्बन गरिएको थियो। त्यतिमात्र हैन, प्रमाण नष्ट गरेको आरोपमा उनीसहित ८ जना प्रहरीविरुद्ध अहिले कञ्चनपुर जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। उनी धरौटी तिरेर छुटेकी हुन्।

खेम भण्डारी पुरस्कार पाएर बढुवा भयो भन्छन्, खासमा निलम्बन भएर दण्डित भइरहेकी छिन्। यस्ता हावादारी झुट कुरा गरेर उनले जनता झुक्याउने काम गरिरहेका छन्।

झुट नम्बर २ : किरणको फेक बर्थ डे
खेम भण्डारीले निरन्तर ओपेरा होटलमा तत्कालीन एसपी (हाल सेवाबाट हटाइएका) दिल्लीराज विष्टका छोरा किरण विष्टले साउन १० गते फेक बर्थ डे मनाएको भन्दै आएका छन्। उनकै प्रभावमा परेर उच्चस्तरीय छानबिन प्रतिवेदनले समेत जन्मदिनको बारेमा हचुवा प्रतिवेदन दियो। सामान्य रुपमा कम्प्युटरमा केही क्लिक गरेर पनि भेरिफाइ गर्न सकिने कुरामा समेत सहसचिव हरिप्रसाद मैनालीको टोलीले लापरवाही गरेको अभिलेख इतिहासमा सधैँ रहनेछ।

बर्थ डेको विषयमा ‘सीधा कुरा’ मा खेम भण्डारीले किरणको यस घटनामा संलग्नताको विषय सबैभन्दा पहिला अनलाइनखबरले उठाएको बताए।

“किरण विष्ट हुनसक्छ भन्ने नाम कतै पनि नआएको बेला भदौ ९ गते बिहान अनलाइनखबरले समाचार लेख्यो। त्यसपछि हामीले खोज्यौँ। मेरो बर्थ डे फेसबुकमा फेस्टिभल जस्तो हुन्छ, किरणको किन भएन? मलाई शंका लाग्यो। छानबिन समितिले किरणको नागरिकतामा जन्मदिन वैशाख १० गते भएको तर साउन १० मा बर्थ डे मनाएको लेखेको छ।”

अनि रविले रोक्दै भन्छन्, ‘सर मेरो नागरिकता र वास्तविक बर्थ डेमा एक महिनाको फरक छ। के गरुँ म?’

‘तपाईँले किरणलाई सफाइ दिन खोज्नुभएको?’ खेम टेबल ठोक्दै चिच्याउँछन्- ‘उच्चस्तरीय छानबिन प्रतिवेदनले नागरिकतामा वैशाख १० गते जन्मदिन भनेको छ।’

रवि सोध्छन्, ‘कसले हैन भनेको सर कसले हैन भनेको छ? नागरिकतामा बर्थडे छ भने उसको बर्थ डे बर्थ डे नै हैन त?’

साउन १० गते यसपालि पनि किन (बर्थ डे विस) आएन? खेमले सोध्छन्।

‘फेक बर्थ डे हो। १०० पर्सेन्ट फेक बर्थ डे,’ उनी जोड गर्छन्।

यत्तिकैमा सिआइबीका हाल निलम्बित डिएसपी अंगुर जिसी, जसले त्यतिबेला अनुसन्धान टिमको नेतृत्व गरेका थिए, ले खल्तीबाट मोबाइल निकाल्छन् र देखाउँछन् जुलाई २६, २०१७ मा पनि मनाएको छ नि त बर्थ डे। घटना २०१८ मा भएको। २०१७ मा पनि छ नि त।

मोबाइल खेम भण्डारीले लिन्छन्। अनि भन्छन्, मैले हेरिनँ।

थप्छन्, ‘२०१८ र २०१९ मा जम्मा एउटा विस आउँछ?’

‘२०१७ को त हेर्नुभो नि तपाईँले।’

‘त्यसको भ्यालिडिटी हुन्न’

‘उसकै फेसबुकबाट ल्याएर मान्ने त्यो चाहिँ तपाईँ, यो चाहिँ नमान्ने किन तपाईँ? २०१८ को मान्ने, २०१७ को नमान्ने किन?’

‘२०१७ को मैले हेरेकै छैन’

‘हेर्नुपर्‍यो नि त्यो, त्यसै अर्कालाई दोष लगाउन पाइन्छ?’

‘नक्कली पनि हुनसक्छ नि त्यो। वालमा देखाउन सक्नुहुन्छ?’

‘गएर हेर्नुस्’

रविले किरणको वालमा एक पटक चेक गर्नु भनेर एमसिआरलाई भन्छन्। तर त्यो देखाइँदैन।

त्यस्तै रातोपाटीको अन्तर्वार्तामा खेम भण्डारीले फेरि भ्रम छर्न खोज्छन्। मोबाइलमा मात्र त्यो बर्थ डेको देखाइयो, स्क्रिनमा देखाइएन भने। कार्यक्रम प्रस्तोताले विगतमा पनि उहाँको बर्थ डे त्यही दिन मनाइएको सत्य हो नि भन्दा हपारे उनले- कसरी सत्य भन्न सक्नुहुन्छ तपाईँ भन्दै। हामीले फेसबुक वालमा चेक गरेका हौँ भन्दै गर्दा प्रस्तोता २०१८ मा हो कि २०१७ मा भनेर अकमक्किए। त्यसले पनि उनलाई झन् सजिलो बनाइदियो।

खिर हो के त यो फेक बर्थ डेको फन्दा।

मैले किरणलाई सोधेको थिएँ। उनले नागरिकतामा वैशाख १० गते हो। तर रियलमा चाहिँ साउन १० गते हो भने। उनले त्यो दिन ओपेरा होटलमा फोटोसुट मात्र भएको, गोजीमा पैसा त थिएन केको बड्डे पार्टी भनेर भने।

त्यो दिन उनको साँच्चिकै बर्थ डे हो कि हैन भनेर पत्ता लगाउन उस्तो विधि टाउको दुखाउनु पर्ने खासमा केही थिएन। यसो हेरे हुन्थ्यो नि फेसबुकको वाल।

के छ वालमा? मैले भिडियोमा खिचेको छु। सीधा कुरा र रातोपाटीको अन्तर्वार्ताको अंशसहित यो भिडियोमा हेर्नुस् विस्तृत विवरण-

यो वर्षको साउन १० गते किन उनको फेसबुक वालमा एक जनाको मात्र बर्थ डे विस आयो भनेर उनले सोधेका छन्। उनले हेरेकै रहेनछन्। यस्तो छ किरणको वालमा-

माथि भिडियोमा तपाईँले हेर्नुभयो होला, २०१८ मा त घटना भएको हो। २०१७ मा पनि छ त्यसअघिका वर्षहरुमा समेत साउन १० गते कै दिन बर्थ डे मनाइएको छ।

एउटा टेक्निकल कुरा पनि भनिदिइहालौँ। फेसबुकमा पुरानो मितिमा पनि कुनै कुरा अपडेट गर्न पाइन्छ। तर त्यो पुरानो मितिमा गरिएको हो कि त्यही मितिमा गरिएको हो ठ्याक्कै पत्ता लगाउन सकिन्छ। किनभने पुरानो मितिमा गरिएको हो भने सानो घडीको जस्तो आइकन देखिन्छ। त्यहाँ माउस होभर गर्दा कहिले त्यो अपडेट गरिएको हो देखिन्छ।

फेसबुकमा कुनै कुरा एडिट गरियो भने त्यो पनि देखिन्छ। जस्तै हिजो खेम भण्डारीले फेसबुक हैन अब ट्विटरमा मात्र लेख्ने भनेका थिए। तर एक घण्टामै त्यसलाई सम्पादन गरेर आफ्नो बोली फेरेका थिए। फेसबुकले पहिले के लेखेको थियो र अहिले के लेखेको छ- स्पष्ट देखाउँछ edit history हेर्ने हो भने।

खेम भण्डारीले रविको शोमा आउनुभन्दा अगाडि आफूले अहिलेसम्म दुई वटा गल्तीहरु गरेको घोषणा फेसबुकमा गरेका थिए।

हामीले गत वैशाखमा पहिलोपोस्टमा #Whokillednirmala को २६ औँ भागमा उनका यी दुई गल्ती खोतलेका थियौँ। पढ्नुस्- निर्मला प्रकरणलाई ‘ट्विस्ट एन्ड टर्न’ गराउने ती शक्तिशाली व्यक्ति

अम्बाको रुखमा शंका उब्जाउन मुख्य भूमिका
निर्मला प्रकरणमा बम दिदीबहिनीको घर आँगनमा रहेको अम्बाको रुखको पनि निकै चर्चा भयो। अम्बाको रुखमा शंका उब्जाउनमा मुख्य भूमिका खेल्ने गरी समाचार र स्ट्याटस लेख्नमा पनि भण्डारीको भूमिका देखिएको छ।

भदौ १३ गते खेम भण्डारीले आफ्नो बाइलाइनमा ‘निर्मला हत्याकाण्ड : छुटेका केही कुरा’ शीर्षकमा लेख लेखेका छन्। त्यसमा बम दिदीबहिनीको घर आँगनमा रहेको ‘अम्बाको रुख काटिएको मात्रै होइन जडखोदान नै भएको बताइएको’ त लेखेका छन् तर सँगै ‘मैले भने त्यो घरको कम्पाउण्डभित्र खुट्टा राखेको छैन’ समेत लेखेका छन्।

चैत तेस्रो साता महेन्द्रनगरमा जाँदा अम्बाको रुखको जरा नै काटिएको भन्ने समाचार आएको रोशनी बमले सुनाएकी थिइन्। त्यतिबेला हेर्दा पनि अम्बाको रुखको जरा र त्यसमाथिको फेद कायमै थियो।

अम्बाको रुख काटेको बारे बुझ्न हिरासतमा रहेका बम दिदीबहिनीका बाबुआमालाई समेत पोलिग्राफ आवश्यक भएको उनले त्यस लेखमा सुझाएका छन् –

अम्बाको रुखको रहस्य
निर्मला अन्तिम पटक ज्यूँदै देखिएको भगतपुरस्थित बम परिवारको घरको अम्बाको रुख काटिएको मात्रै होइन जडखोदान नै भएको बताइएको छ। मैले भने त्यो घरको कम्पाउण्डभित्र खुट्टा राखेको छैन। लटरम्म फलेको सिजनको अम्बामाथि किन रिस पोखियो भन्ने बुझ्न साह्रै कठीन छ। यो बुझ्न हिरासतमा रहेका बम दिदीबहिनीका बाबुआमालाई समेत पोलिग्राफ आवश्यक छ।
निर्मलाले बोकेको भनिएको अम्बाको पोलिथिन (जुन शव पाइएको ठाउँ नजिक पाइएको थियो) र बम परिवारको घरको अम्बाको जात मिल्थ्यो कि मिल्दैन थियो भन्ने थाहा पाउन अब सम्भाव छैन किनभने बम परिवारको आँगनको अम्बाको रुखको अब सुकेको हाँगा पनि पाउन कठीन छ। निर्मलाको शव पाइएको ६ दिनपछि अम्बाको रुख काटिनुले उब्जाएको प्रश्नको चित्तबुझ्दो उत्तर महेन्द्रनगरवासीले पर्खिरहेका छन्। (पढ्नुस् पूरा लेख)

हामीले अपराध अनुसन्धानका अनुभवी केहीलाई सोध्यौं। उनीहरुका अनुसार अम्बाको रुखसित निर्मलाको सम्बन्ध निर्मला त्यो घरमा आएको हो भन्ने तथ्य ‘स्ट्याब्लिस’ गर्न मात्र काम लाग्छ।

बम दिदीबहिनीले आफ्नो घरमा निर्मला आएकै छैन भनेको भए घटनास्थलमा भेटिएको अम्बा र अम्बाको रुखसित सम्बन्ध स्थापित गरी निर्मला घरमा आएको हो भन्ने प्रमाणित गर्न सकिन्थ्यो।

तर, यो केसमा बम दिदीबहिनी स्वयंले ‘निर्मला घरमा आएकी हो र अम्बा पनि दिएर पठाएका हौँ’ भनेका छन्। यस्तो अवस्थामा अम्बाको रुख हुनु र नहुनुले घटनाको अनुसन्धानमा केही फरक पार्दैन।

तर, अनुसन्धानको यस्तो तथ्यमा कसैले ध्यान दिएन। अम्बाको रुखबारे हल्ला चली नै रह्यो। उनले उठाएको प्रसंग त्यसपछि राष्ट्रिय दैनिकमा समेत स्थापित हुन पुग्यो।

असोज १ मा नयाँ पत्रिकामा ‘निर्मलालाई सोही रुखमा झुन्ड्याइएको हुन सक्ने कोणबाट पनि अनुसन्धान’ भएको र ‘अम्बाको रुखमा झुन्ड्याइएकाले त्यसमा निर्मलासम्बन्धी केही प्रमाण भेटिने सम्भावना थियो । त्यसैले निर्मलाले अम्बा टिप्दा त्यो प्रमाण रहेको हुनसक्ने तर्क गर्न अम्बाको झोला घटनास्थलमा लगेर राखिएको हुनसक्छ ’ भनेर जुनियर प्रहरी अधिकृतको बेनामे भनाई राखियो।

अम्बाको रुखमा झुण्ड्याएर मारेको हुनसक्ने कोणबाट अनुसन्धान नभएको अनुसन्धानकर्मी बताउँछन्। अम्बाको रुखमा वा अरु कतै झुण्ड्याइएको भए शवको घाँटीमा ‘लिगायचर मार्क’ हुनुपर्छ। निर्मलाको शवमा त्यस्तो कुनै मार्क नदेखिएको अनुसन्धान अधिकृत एकिन्द्र खड्का बताउँछन्।

यस्तै विवरण पोस्टमार्टम प्रतिवेदनमा छ। (हेर्नुस् पोस्टमार्टम प्रतिवेदन) प्रतिवेदनमा घाँटी अँठ्याएर मृत्यु भएको उल्लेख छ। पोस्टमार्टम गर्ने चिकित्सकले घाँटीमा एक हातले थिचेको डाम भेटिएको समेत अनुसन्धानकर्मीलाई बताएका थिए।

बम दिदीबहिनीको घरको स्थलगत अवलोकन गर्दा पनि हामीले अम्बाको रुखमा झुण्ड्याउन हल्ला चले जस्तो सहज नहुने देख्यौँ। किनभने निर्मलाको हत्या दिउँसो २ बजेदेखि ५ बजेभित्र भएको मानिएको छ।

अम्बाको रुख मूल सडकबाटै देखिने ठाउँमा रहेकोले दिउँसै त्यसरी झुण्ड्याएर हत्या गर्न सम्भव देखिन्न। घरभित्र घाँटी थिची हत्या गरी अम्बाको रुखमा झुन्ड्याउन सम्भव छ त?

सडकबाटै देखिने ठाउँमा अम्बाको रुख भएकोले बाटोमा हिँड्नेहरु र छिमेकीहरुले त्यहाँ के भइरहेको हो देख्न सक्छन्। घरको मूलगेटबाट अम्बाको रुख भएको ठाउँसम्म करिब १० मिटरको दूरी छ। घरको चारैतिर लगाइएको कम्पाउन्ड वाल पनि करिब चार फिट भन्दा बढी छैन। त्यसैले बाटोमा हिँड्नेहरुले समेत सहजै देख्ने डर हुन्छ। दिउँसो यो काम सम्भव छैन।

हामीले सडकबाट खिचेको बम दिदीबहिनीको घरको फोटो। यो पर्खालसँगै जोडेर अम्बाको रुख रहेको थियो।

राति अरुले नदेख्ने गरी झुण्ड्याउन त सकिएला तर त्यसमा पनि धेरै नै ‘रिस्क फ्याक्टर’हरु छन्। थप पढ्नुस् – निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा

राष्ट्रिय दैनिकसँगै युट्युबरहरुले पनि सनसनीपूर्ण रुपमा अम्बाको रुखमा झुण्ड्याएर हत्या गरिएको कुरा राखेपछि स्थलगत रुपमा कसैले नदेखे पनि अम्बाको रुखमै शंका गर्ने वातावरण बन्यो।

असोज १० गतेसम्म पनि उनले ‘निर्मला हत्याकाण्डमा बम दिदीबहिनीको घर र अम्बाको रुख बिर्सियो भने अनुसन्धान कहिल्यै पूरा हुने छैन’ भन्दै अम्बाको रुखमा शंका उब्जाइराख्ने वातावरण बनाए।

रेडियो स्टेसन
डिएनए नमिलेर दिलिपसिंह विष्ट साधारण तारेखमा रिहा भइसकेपछि उनीसित गरिएको सोधपूछको एउटा भिडियो प्रहरीले लिक गर्‍यो।

भिडियो सार्वजनिक भएपछि असोज १८ गते उनले दिलिप विष्टलाई कुनै एक रेडियो स्टेशनमा लगेर भिडियो बनाइएको लेखे। महेन्द्रनगरमा रेडियो महाकालीसमेत सञ्चालन गरिरहेका भण्डारीले सोधे, ‘को हो त्यो पत्रकार जसले पुलिसको लागि जासुसी गरिरहेको छ। पुलिसले बकाउन किन रेडियो स्टेशनमा लग्नु पर्‍यो?’

फेरि अर्को स्ट्याटसमा उनले अम्बाको रुखसित जोडेर लेखे- ‘अब महेन्द्रनगरको कुनै रेडियो स्टेशनको पनि अम्बाको रुख जस्तै नामोनिसान सकिने त होला। भिडिओ मात्रै होइन दिलिपको अडियो समेत एडिट गरिएको छ । मतियारको अभियोग सजिलै लाग्छ है।’

वास्तवमा त्यो जिल्ला प्रहरी कार्यालय कै इन्भेस्टिगेटिभ इन्टरभ्यु रुममा लिइएको भिडियो थियो। नेपाल प्रहरीको कार्य एवं अपराध अनुसन्धान विभागद्वारा २०७४ मा प्रकाशित सिआइडी म्यागेजिनका अनुसार डबल मिरर र अडियो भिडियो रेकर्डिङ सुविधासहितको यस्ता १२ वटा रुम आर्थिक वर्ष २०७३/७४ मा तयार पारिएका थिए। जसमध्ये कञ्चनपुरको जिल्ला प्रहरी कार्यालय पनि एक हो।

उनले यी दुई गल्ती स्वीकारे। तर अझै पनि उनी झुट बोलेर दुनियाँलाई भ्रममा पार्न खोज्दैछन्। अनि मिडिया उनको झुट प्रस्तुत गर्ने माध्यम भइरहेको छ। अरु झुटका लागि उनले कहिले गल्ती स्वीकार्ने हो- प्रतीक्षा गर्नुपर्नेछ।

त्यसैगरी खेम भण्डारीले समेत अनलाइनखबरले किरणको यो घटनाबारे संलग्नता बारे पहिलो समाचार छापेको बताएका छन्। अनलाइनखबरले पनि अहिलेसम्म त्यो समाचार गलत भएको हो भनी माफी मागेको छैन।

काठमाडौँका मिडियामा आएर खेम भण्डारीले बोलेका झुट यतिमा मात्र सीमित छैन। यसबारे अरु थप पनि लेख्ने नै छु।

काठमाडौँका मिडियामा आएर खेम भण्डारीले बोलेका झुट यतिमा मात्र सीमित छैन। यसबारे अरु थप पनि लेख्ने नै छु। यो सब थाहा पाएपछि तपाईँले पनि खेम भण्डारीकै स्टाइलमा यसो भन्नुहुनेछ होला-

एक पटक तलको लिङ्ग थिच्नुहोस्

http://www.mysansar.com/wp-content/uploads/2019/08/fake1.mp4?_=1

साभारः माइसन्सार डट कम

प्रतिक्रिया दिनुहोस्