विद्यार्थीले लगाउँछन् शिक्षकको हाजिरी



सल्यान २६ साउन– जिल्लाको दार्मा गाउँपालिका वडा न १  स्याला स्थित बालकल्याण प्राथमिक विद्यालयमा  शिक्षकको हाजिरी विद्यार्थीले लगाउने गर्दछन् । प्राय विद्यालयमा शिक्षकले विद्यार्थीको हाजिरी लगाई रहेको अवस्थामा उक्त विद्यालयमा भने विद्यार्थीले शिक्षकको हाजिरी लगाउदै आइरहेका छन् । 

कुन शिक्षक कति बजे कक्षामा प्रवेश गरे, कति मिनेट पढाए, कक्षा घण्टी सकिएको कति मिनेट पछि कक्षा छोडे लगायतका विषयमा विद्यार्थीले शिक्षकको हाजिरी लगाउने गर्दछन् । शिक्षकको अधिनमा विद्यार्थीहरु रहनु पर्ने बाध्यतात्मक अवस्थालाई अन्त्य गरी शैक्षिक वातावरण सृजना गर्न यस प्रकारको कार्य गरिएको विद्यालयका प्रधानाध्यापक कुमार देवकोटाले बताए । उनले भने विद्यालयको वातावरण शैक्षिकमैत्री बनाउने हो भने विद्यार्थीलाई शिक्षकले र शिक्षकलाई विद्यार्थीले चेक एण्ड व्यालेन्स गर्न जरुरी छ । 

यस प्रकारको विद्यालयमा कार्यक्रम गर्न थाले पछि विद्यार्थीको शैक्षिक गुणस्तरमा समेत वृद्धि आएको उनको दावी छ । शैक्षिक गुणस्तर बढेकै कारण चालु शैक्षिक वर्षमा मात्रै नीजि विद्यालय छोडेर २५ जना विद्यार्थी विद्यालयमा भर्ना भएको देवकोटाले बताए । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुनुमा अभिभावक, विद्यालय व्यवस्थापन समितिको पनि अहम भूमिका रहेको उनले बताए । अहिले विद्यालयमा १ सय ८३ विद्यार्थी रहेको उनको भनाई छ । 
विद्यालयले अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुको पनि हाजिरी गराउने गरेको छ । जसले अभिभावकहरु विद्यालय, आफ्ना छोराछोरीहरु प्रति कति उत्तरदायी छन् भन्ने कुराको पुष्टि हुने बताए । वर्षभरी विद्यालयको नियमित अनुगमन गर्ने अभिभावकलाई वार्षिक परीक्षाको परीक्षाफल प्रकासित गर्ने दिन पुरस्कृत गर्ने गरेको समेत देवकोटाले बताए । 

प्रतिक्रिया दिनुहोस्