एक लपेटो नखाएको बताउने प्रचण्डले यसरी खाएका थिए गालामा झापड (भिडियो सहित)



शुक्रबार आफ्नै पार्टीका नेता दीनानाथ शर्माको किताबको विमोचन कार्यक्रम ‘झरीको सौन्दर्य’को लोकार्पण गर्दै प्रचण्डले भने, ‘म त्यस्तो विद्रोही नेता हुँ जसले कसैलाई एक लपेटो हानेको पनि छैन र कसैको एक लपेटो खाएको पनि छैन, मेरो नेतृत्वमा यत्रो युद्ध भयो, हजारौँको बलिदान भयो। तर, त्यसको कमाण्डर म जसको हिंसात्मक क्रियाकलापमा प्रत्यक्ष सहभागिता छैन।’

के साँच्चै उनले कसैको एक लपेटो पनि नखाएको साँचो हो तरु लपेटोलाई उनले जुन अर्थमा भने त्यो उनै जानुन्। तर झापड चैँ भेटेका थिए है। बिर्सनु भएको भए सम्झाइदिउँ, घटना झण्डै सात वर्षअघिको हो नोभेम्बर १६, २०१२। भृकुटीमण्डपमा पार्टीको चियापान कार्यक्रम थियो। त्यहाँ प्रचण्ड उपस्थित थिए( माओवादी पार्टीका अध्यक्षका रुपमा। उनी मञ्चमा उभिएर अतिथिहरुसँग हात मिलाउँदै थिए। मानिसहरु लाम लागेर हात मिलाउन आतुर थिए। त्यही लाममा थिए पदम कुँवर। उनले हात मिलाए। तर लगत्तै प्रचण्डको गाला पनि चड्काइ दिए।

अकस्मात् गाला चड्काएपछि उनलाई मञ्चबाट तल धकेलियो। लगत्तै कार्यकर्ताहरुले उनलाई मुक्कैमुक्काले दिए, लातैलातले हाने। जोगाउन प्रहरीलाई हम्मेहम्मे पर्‍यो।

प्रहरीले सुरुमा नजिकैको नेपाल पुलिस क्लब र त्यसपछि प्रहरी अस्पतालमा उपचारका लागि पदमलाई लगेको थियो। एक दशक सशस्त्र क्रान्तिको नेतृत्व गरी त्यतिबेलाको सबैभन्दा शक्तिशाली नेता बनेका माओवादी अध्यक्ष प्रचण्डलाई पदम कुँवरले हानेको थप्पडको गुञ्जन धेरै समयसम्म गुञ्जिरह्यो।

प्रचण्डलाई भन्दा पहिला झापड तत्कालीन एमाले नेता झलनाथ खनाललाई पनि हानिएको थियो। झलनाथलाई झापड हानिँदा जनताको आवेग पोखिएको भन्ने माओवादी आफ्नै अध्यक्षको गालामा त्यस्तै झापड बज्रिँदा तिल्मिलाएको थियो। आफ्नै अध्यक्षको गालासम्म पुगेको झापडको झट्काले निकै समयसम्म रन्थन्याइरह्यो।

चियापान कार्यक्रम सकिन सकिन लाग्दा जिल्लाबाहिरबाट आएका कार्यकर्ताहरुबाट हात मिलाउँदै शुभकामना लिइरहेका बेला कुँवरले एक्कासी प्रचण्डलाई चड्कन हानेको भएर चड्कनको दृश्य न कुनै टेलिभिजनका क्यामेरामा रेकर्ड भयो, न कुनै मोबाइलमा नै। तर टेलिभिजनहरुले माओवादी कार्यकर्ताहरुले रगतपच्छे हुने गरी कुटपिट गर्दै गरेको र प्रहरीहरुले जसोतसो छेकेर बचाउँदै गरेको दृश्य चाहिँ देखाएका थिए।

झापडपछि बसेको माओवादीको बैठकले यो घटनालाई नियोजित र षड्यन्त्रमूलक भनेको थियो। योजनावद्ध भएको भए योभन्दा ठूलो अप्रिय घटना पनि हुनसक्थ्यो, झापड मात्रै हान्नु त के षड्यन्त्रमूलक हुन सक्ला र भन्ने तर्क पनि भए।

पदम बाग्लुङको राजकुट गाविस वडा नम्बर २ निवासी युवक हुन्। त्यतिबेला उनको उमेर २३ वर्षको थियो। कुँवरको परिवारका सदस्यहरु सशस्त्र द्वन्द्वका क्रममा माओवादी पार्टीमा सक्रिय भएर लागेका थिए। उनीहरुको परिवारको घर र सम्पतिलाई २०६० सालमा सुरक्षा फौजले ‘माओवादी आतंककारी’ को भएको भन्दै ध्वस्त पारिदिएको थियो।

उनकी दिदीको नाम साधना कुँवर। दाजुको नाम टेकबहादुर कुँवर। दुवै द्वन्द्वकालमा माओवादी सेनाका कम्पनी कमान्डर थिए। दुवै युद्धकालमा घाइते भएका थिए।

साधनाको पेटमा गोली लागेको थियो। त्यतिबेलासम्म निकाल्न सकिएको थिएन। टेकबहादुर शारीरिक रुपमा मात्रै हैन मानसिक रुपले समेत कमजोर थिए।

पदमका पिता प्रेमबहादुर माओवादीको बाग्लुङ जिल्ला कमिटीका सदस्य थिए। दिदी साधना भने राज्य कमिटी सदस्य थिइन्। दाजु टेकबहादुरकी श्रीमती राजकुट गाउँमै सानो पसल थापेर बसिरहेकी थिइन्।

जनताको मुक्ति गर्ने, जनताले शासन गर्ने जस्ता आशलाग्दा सपना देखाएर जनयुद्ध गर्न आह्वान गर्ने माओवादी नेताहरुको बोलीमा भर परेर परिवारका अरु सदस्य जस्तै पदम पनि माओवादी कार्यकर्ता भएर लागेका थिए। द्वन्द्व कालमा उनले माओवादीको विद्यार्थी फाँटमा केही समय काम गरेका थिए। पछि उनी वैदेशिक रोजगारका लागि कतार उडे। कतारबाट फर्किएपछि उनी होटल याक एन्ड यतिमा प्रोफेसनल कूकको प्रशिक्षण लिँदै थिए।

पछि प्रचण्डले झापड हान्नेलाई माफी दिएको बताए। तर प्रशासनले २८ हजार धरौटी माग्यो। धरौटी बुझाउन नसकेपछि उनलाई सुन्धारास्थित कारागार लगियो। पछि धरौटी बुझाएर उनी रिहा भए।

बिस्तारै यो घटना ओझेलमा पर्‍यो। यो घटनाको एक वर्षपछि पदम कुँवर फेरि चर्चामा आए। संविधान सभाको दोस्रो चुनाव हुँदै थियो। प्रचण्ड काठमाडौँ १० र सिरहाबाट उम्मेदवार बने। काठमाडौँ १० मा प्रचण्डविरुद्ध पदम कुँवर पनि उम्मेदवार बने। उनको पक्षमा युट्युबमा प्रचारसमेत भयो।

चुनावमा पदमले ३८ भोट मात्र पाए। तर पदममात्र त्यो क्षेत्रमा हारेनन्, प्रचण्ड पनि पराजित भए। प्रचण्डको राजनीतिक रुपमा ओरालो लाग्ने क्रम यहीँबाट सुरु भयो। यद्यपि प्रचण्डले एमालेसित पार्टी एकीकरण गरी आफूलाई राजनीतिको केन्द्रमा राख्ने प्रयास गरेका छन्। पदम भने अहिले गुमनाम छन्। उनी कहाँ छन्, कसैलाई थाहा छैन।

माइसंसारबाट

प्रतिक्रिया दिनुहोस्