कृषिक्षेत्रको विकासका लागि यान्त्रिकरणलाई बढाउँदै जान्छौं : नगरप्रमुख वाइवा



काभ्रे (मण्डनदेउपुर)– काभ्रेको मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले कृषि क्षेत्रको विकासका लागि यान्त्रिकरणलाई बढाउँदै लैजाने बताएका छन् ।

शनिबार नगरपालिकाद्वारा आयोजित कृषि तथा शैक्षिक सामग्री वितरण समारोहलाई सम्बोधन गर्दै प्रमुख वाइवाले साना तथा मझौला कृषि औझारले किसानको सहजता बढ्दै गएको बताउँदै नगरपालिकाले बजेट छुट्याएर कृषि सामग्रीमा अनुदान दिने बताएका हुन् । उक्त वितरण समारोहका प्रमुख अतिथि वाइवाले कृषिमा आधुनिक ढंगले जानुपर्ने बताए । उनले काभ्रे जिल्लाको महत्वपूर्ण कृक्षि क्षेत्र मानिएको मण्डनदेउपुरका किसानले केहि वर्ष अघि सम्म परम्परागत रुपमा खेती गर्दै आएकोमा हाल आएर आधुनिक यन्त्र प्रयोग गर्ने काम बढ्दै गएको बताए । उनले कृषि र शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राखेर दृढताका साथ अघि बढ्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वाइवाले कर्मचारीको अभावले वडा कार्यालयमा हुने दैनिक कामकाज गर्न पनि समस्या परेको गुनासो गरे । वाइवाले कर्मचारीको अभावमा कार्यसम्पादनमा चूनौति रहेको बताए । उनले भने– ‘आफुले मत दिएर जिताएका जनप्रतिधि छन् भनेर जनताले सहजता खोज्नु स्वभाविक हो । हामीले पनि आम जनतामा सहजताका साथ सेवा दिनु हाम्रो दायित्व हो । र यसलाई पूरा गर्न हरतरह प्रयास गरिरहेका छौं ।’

कार्यक्रममा नेकपाका नेता विदुर सापकोटाले गोरु जोतेर खेती गदै आएका किसानलाई हाते ट्याक्टरको उपलब्धताले धेरै सहजता पुगेको बताए । उनले भने– ‘हिजो गोरुले जोत्दा छोउ कुना खन्नु पर्थ्यो, डल्ला फोर्नु पर्थ्यो, एक हल गोरुका लागि एक जना बाह्रै महिना खटिनु पर्ने हुन्थ्यो । एक महिनाको गोरुको काम हुन्थ्यो भने बाँकी ११ महिना विना काम गोरु पाल्नु पर्ने हुन्थ्यो । तर ट्याक्टर आएपछि छेउकुना खन्नु पर्दैन, डल्ला फोर्नु पर्दैन । जति बेला काम पर्छ त्यति बेला पेट्रोल हालेर जोते भो ।’ कार्यक्रमलाई सम्बोधन गर्दै नेता सापकोटाले नगरले अनुदानमा दिएका यी कृषि सामग्रीको नियमित अनुगमन गर्नुपर्ने धारण राखे ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता रामहरि सापकोटाले वितरण प्रक्रियाका विषयमा प्रश्न गठाएका थिए । वडा नं. ७ का अध्यक्ष नारायणप्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास समिति संयोजक एवं वडा नं. ८ का अध्यक्ष झलकप्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा नगर क्षेत्र भित्रका किसान र कृषक समूहलाई ३९ हजार प्रतिगोटा मूल्य बराबरको १ सय ९ वटा खेत जोत्ने सानो ट्याक्टर । ५५ हजार प्रति गोटा मूल्य पर्ने २१ वटा थ्रेसर (धान झार्ने मेशिन) वितरण गरिएको थियो भने नगर भित्रका ३९ वटा विद्यालयलाई ५ लाख मूल्य बराबरको शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको थियो

नगरका प्रशासकीय अधिकृत प्रणयराज न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा नगरका प्रवक्ता एवं वडा नं. ६ का अध्यक्ष डिल्लीप्रसाद आचार्यले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रममा नेकपाकी नेतृ रिता ढकाल वडा नं. १ का अध्यक्ष लक्ष्मण बस्ताकोटी, वडा नं. ३ १ का अध्यक्ष दिलबहादुर तामाङ, वडा नं. ४ का अध्यक्ष भुवन बजगाईं, वडा नं. ५ १ का अध्यक्ष नेत्र प्रसाद ढकाल, वडा नं. ९१ का अध्यक्ष जितबहादुर तामाङ, वडा नं. १० का अध्यक्ष बिष्णुमणि नेपाल, वडा नं. ११ १ का अध्यक्ष गोविन्द पराजुली, वडा नं. १२ १ का अध्यक्ष माधव न्यौपाने लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्