बालुवा निकाल्न खनेको खाल्डोमा डुवेर दुई युवकको मृत्यु भएपछि स्थानीयले जलाए डोजर



धादिङ– गजुरी गाउँपालिका–६ को ठुलीफाँटस्थित दरिङगाल खोलामा बालुवा निकाल्न खनेको खाल्डोमा डुबेर दुई जना युवकको मृत्यु भएको छ । उक्त घटना पछि आक्रोशित स्थानीयले डोजर जलाइदिएका छन् ।

बालुवा निकाल्न खनेको खाल्डोमा जमेको पानीमा डुबेर गजुरी गाउँपालिका वडा ७ का २१ वर्षीय भीम तामाङ र २३ वर्षीय सुमन स्याङतानको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुवै जना पौडी खेल्दै बालुवा भए नभएको परीक्षण गर्ने क्रममा डुबेका हुन् । मृतक दुवै जना खोलाबाट बालुवा निकालेर जीवन गुजारा चलाउँदै आइरहेका थिए ।

अनियमित ढंगले डोजर प्रयोग गरी खोलाबाट बालुवा निकाल्दा खोला पोखरीमा परिणत बनेर जोखिम बढेको भन्दै आक्रोसित स्थानीयबासीले तीन ओटा डोजरमा आगजनी गरेका छन् । घट्ना स्थलदेखि झण्डै १ किलोमिटरको दुरीमा राखिएको डोजरमा स्थानीयबासीले आगो लगाइदिएको नायव निरीक्षक खड्काले बताए । पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने तथा बालुवा उत्खनन गर्ने ठेकेदारलाई कानुनी कारवाही गर्नुपर्ने माग राख्दै स्थानीयबासीले अहिले घटनास्थलमै शव राखेर विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्