बलात्कारको घटनामा लिापत्र गराउने सात जना पक्राउ



विराटनगर– सुस्त मनस्थितिकी १६ वर्षीय बालिकामाथि भएको सामूहिक बलात्कारको घटनालाई मिलापत्र गराउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रंगेली नगरपालिका–९ मा तीन युवा मिलेर १६ वर्षीय बालिकामाथि गरेको बलात्कारको घटनालाई लेनदेनमा मिलापत्र गराउने गाउँका १० जना मध्ये सात जना पक्राउ परेका हुन् ।

घटना भएको एक महिना बितिसके पनि बलात्कार जस्तो जघन्य अपराधमा मिलापत्र गराउनेलाई संरक्षण दिइरहेको आरोप लागेपछि प्रहरी आलोचित बनेको थियो । इलाका प्रहरी कार्यालय रंगेलीले सबै जनालाई आफ्नै घर गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जानकारी दिएको छ । पीडित पक्षलाई मिलापत्र गर्न दवाव दिएका मध्ये ६५ वर्षीय रामबहादुर राजवंशी, ७० वर्षीय निमलाल राजवंशी, ६० वर्षीय शेखर गौतम, ३७ वर्षीय चित्रसेन राजवंशी, ४० वर्षीय अभिनव बजगाईं, ३३ वर्षीय दिलिप मुर्मु र ३५ वर्षीय सुवास राजवंशीलाई पक्राउ गरिएको हो । घटना मिलापत्र गराउन मुख्य भूमिका खेलेका मध्ये ३५ वर्षीय गणेशप्रसाद दाहाल, ३४ वर्षीय रेवतबहादुर काफ्ले र ५५ वर्षीय चेतबहादुर मगर अझैसम्म फरार रहेका छन् । उनिहरूको खोजी कार्य भइरहेको छ ।

पक्राउ परेका सबै जनाविरुद्ध शुक्रबार प्रहरीले जवरजस्ती करणी मुद्दामै अनुसन्धान गर्न अदालतबाट चार दिनको म्याद थप गरेको छ । पीडित पक्षले भने प्रहरीले नै संरक्षण प्रदान गरेका कारण घटना भएको लामो समयसम्म पनि मिलापत्र गराउने पक्राउ नपरेको गुनासो गर्दै आएको थियो । घटनामा संलग्न सबै घर गाउँमै रहे पनि पक्राउ नगर्दा प्रहरी अनुसन्धा नै शंकास्पद बनेको थियो । प्रहरीले चौतर्फी दबाबपछि मात्रै उनीहरुलाई पक्राउ गरेको पीडित पक्षको भनाइ छ ।

गाउँकै १० जना अगुवाले एक लाख ५० हजार रुपैयाँ पीडित पक्षलाई दिने सर्तमा मिलापत्र गराएर पीडकलाई उन्मुक्ती दिलाउने र घटनालाई सामसुम पार्ने प्रयास गरेका थिए । गत असार २० गते घटना भए पनि प्रहरीले बलात्कारमा संलग्न २५ वर्षीय रोमन मगर र २४ वर्षीय प्रिन्स अधिकारीलाई साउन ३ गते मात्रै पक्राउ गरेको थियो । पक्राउ परेका विरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न २३ वर्षीय सुनील चौधरी फरार छन् । रातको समयमा चुरोट सल्काउने आगो माग्न भन्दै गएका तीन जनाले घरमा कोही पनि नभएको अवस्थामा अशक्त किशोरीलाई नजिकैको धान कुट्ने मिलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घटना सार्वजनिक भएपछि असार २६ गते गाउँमा स्थानीय अगुवा सम्मिलित भेला र छलफल राखिएको थियो । त्यही भेलामा अगुवाहरुले भने पीडित पक्षलाई मिल्न दबाब दिंदै मिलापत्र गराएर उपचार खर्चबापत पीडकबाट एक लाख ५० हजार रुपैयाँ दिलाउने उधारो कागज गराएका थिए । तीनै जनाले साउन ६ गते भित्रमा पीडित किशोरीलाई ५०–५० हजार रुपैयाँ दिने कागजमा उल्लेख छ । यो घटनालाई लिएर कहीं पनि उजुर नगर्ने र घटना सार्वजनिक नगर्ने भनेर कागजमा सही छाप गरिएको छ । तर त्यस अघि नै घटना बाहिरिएपछि लेनदेन भने हुन पाएन ।

प्रतिक्रिया दिनुहोस्