पाँचखाल नगरपालिकामा टेण्डर नै नगरी उठाइँदै छ सडक कर



टेण्डरको म्याद सकिएका ठेकेदारले अझै उठाउँदै दस्तुर

काभ्रे– काभ्रेको पाँचखाल नगरपालिकाले टेण्डर प्रक्रियानै नगरी सडक कर उठाउँदै आएको छ । आर्थिक वर्ष २०७५/६६ ठेकेदार सँगको सम्झौता सकिएपनि प्रक्रिया बिना नै उक्त ठेकेदारलाई कर उठाउन दिइएको पाइएको हो ।


नगरपालिकाले टेण्डर नखोलीकनै सवारी कर उठाउँदै आएको छ । भगवती निर्माण सेवासँगको सम्झैता सकिएपनि नगरपालिकाले उसैलाई कर उठाउन दिएको हो । सडक बोर्ड र नगरपालिकाको साझेदारीमा भगवती निर्माण सेवा प्रालिले कर उठाउने ठेक्का पाएको थियो । तर, भगवती निर्माण सेवासँगको सम्झौता सकिएपनि बिना प्रक्रिया अहिले पनि उसैले कर उठाईरहेको व्यवसायीहरु बताउँछन् ।

पाँचखाल–मेलम्ची सडक उपभोग गरे बापत नगरपालिका र सडक बोर्डले कर संकलन गर्दै आएका छन् । नगरपालिकाले ट्रक, हेभी ट्रक, टिपर र ट्याक्टरबाट भ्याट सहित १ सय १३ रुपैयाँ उठाउँदै आएको छ । यस्तै, मिनी ट्रकबाट ५६ रुपैयाँ ५० पैसा र बस र मिनिबस बाट ३३ रुपैयाँ ९० पैसा तथा निजी कार, जिप डेलीभरी भ्यान पावर टेम्पो र टेम्पोबाट दैनिक २२ रुपैयाँ ६० पैसा कर उठाउँदै आएको छ । उपभोक्तालाई दिएको रसिदमा कर संकलन आर्थिक वर्ष २०७६र७७ का लागि भनिएपनि कर संकलन गर्ने भगवती निर्माण सेवा र नगरपालिकाबीचको करार सम्झैता गत असारमै सकिएको हो । सो निर्माण सेवाले गत आर्थिक वर्षमा मात्रै कर संकलनका लागि ठेक्का पाएको थियो ।

चालू आर्थिक वर्षमा कर संकलन गर्न नगरपालिकाले टेण्डर नै नखोलेको स्रोतको दाबी छ । टेण्डर रद्द भएपनि भगवती निर्माण सेवाले नगर प्रमुख महेश खरेलसँगको मिलेमतोमा कर संकलन गरेको ब्यवसायीले आरोप लगाएको रेडियो इकान्तिपुरले समाचार प्रशारण गरेको छ । नगरपालिकाको आन्तरिक स्रोतको कमजोर भएपछि नगरप्रमुख खरेलले प्रक्रिया मिचेर पुनः भगवती निर्माण सेवालाई कर उठाउन भनेको ब्ययवसायीको दाबी छ । राम लामाको भगवती निर्माण सेवा मार्फत नगर प्रमुख खरेल निकट गुणराज ठकुरीले ठेक्का हात पारेका हुन् । सो सडकबाट दैनिक ५० हजार रुपैयाँ कर उठने र नगरपालिकालाई ठेकेदार कम्पनीले मासिक ४ लाख रुपैयाँ दिने गरेको छ ।

राजमार्गबाट कर उठान नपाईने भएपनि स्थानीय तहले आफू खुसी कर संकलन गर्दै आएका छन् । तर, नगर उपप्रमुख लक्ष्मी दनुवारले भने सडक बोर्डको आग्रहमा भगवती निर्माण सेवालाई नै कर उठाउन दिएको बताउनुभयो । दनुवारले भन्नुभयो, ‘अर्को प्रक्रिया नहुँदासम्म पुरानो सम्झैतालाई निरन्तरता दिनु भनेर सडक बोर्डले भन्यो, सोही अनुसार हामीले गरेका हौ । प्रक्रिया मिचेको होईन् ।’

प्रतिक्रिया दिनुहोस्