पिच गरेको भनेर भुक्तानी भएको ठाउँमा पोखरी



दुई फिट खाल्डो खन्न २६ लाख खर्च

विराटनगर– विराटनगर महानगरपालिका १९ स्थित बैजनाथपुर क्षेत्रीय रंगशाला । रंगशालाको बीचमा सानो पोखरी । छेउमा गएर हेर्दा माछाहरू फुत्रुक फुत्रुक गरिरहेको दृश्य । खेल मैदानबीचमा रहेको पोखरी पौडी पोखरी भने हैन । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

बैजनाथपुर रंगशाालामा क्रिकेटको पिच निर्माण गर्न मन्त्रालयले ४३ लाख बजेट छुट्याएको थियो । उक्त बजेट जिल्ला स्वास्थ्य कार्यालयमार्फत नवीन घिमिरे अध्यक्ष रहेको उपभोक्ता समितिसँग जेठमा सम्झौता गरी क्रिकेट पिच निर्माण गर्न हस्तान्तरण गरिएको थियो ।

समितिले क्रिकेट पिच निर्माण गरिसकेको बिल भर्पाइ पेस गरेर २६ लाख भुक्तानी लिइसकेको छ । समितिले भुक्तानी लिइसकेको भए पनि रंगशालामा क्रिकेट पिच निर्माण गर्ने भन्दै खनिएको खाल्डोबाहेक अन्य कुनै काम भएको छैन ।

आर्थिक वर्ष सकिनलाग्दा खनिएको खाल्डोमा पानी भरिएर पोखरी बनेको छ । समितिले पिच बनाउन फाउन्डेशन निर्माणको सामान्य कामबाहेक अन्य काम नगरे पनि रकम भुक्तानी लिएर अनियमितता गरेको प्रस्ट हुन्छ ।

मन्त्रालयले विराटनगर १९ स्थित बैजनाथपुर क्षेत्रीय रंगशालामा अन्तर्रा्ष्ट्रियस्तरको क्रिकेट पिच बनाउन ८५ लाख रुपैयाँ बजेट निकासा दिएको थियो । त्यसमध्ये पिच निर्माणका लागि ४३ लाख रुपैयाँ र पिच रोलरलगायत अन्य उपकरण खरिदमा ४२ लाख रुपैयाँ विनियोजन भएको थियो । पिच रोलर, म्याट, ग्रास कटरलगायत उपकरण खरिद गरिएको छ ।

सामाजिक विकास मन्त्रालयले खेलकुदको बजेट कार्यान्वयन गर्ने कार्यालय नभएको भन्दै पिच निर्माणको रकम जिल्ला स्वास्थ्य कार्यालयमा निकासा पठाएको थियो । जिल्ला स्वास्थ्य कार्यालय मोरङले उपभोक्ता समितिमार्फत रंगशालामा क्रिकेट पिच बनाउने सम्झौता गरेको हो ।

उपभोक्ता समितिमा राजेश पोखरेल सचिव, अजिता बराल कोषाध्यक्ष तथा सदस्यमा मोहन भण्डारी, रीता न्यौपाने, सन्जु सापकोटा, अरुण सुराना, अधिराज रेग्मी छन् । स्वास्थ्य कार्यालय र उपभोक्ता समितिबीच जेठ २० मा सम्झौता भई काम अघि बढेको थियो ।

उपभोक्ता समितिले २८ लाख ६२ हजार ३ सय ६१ रुपैयाँ भुक्तानी लिएको स्वास्थ्य कार्यालयका प्रशासन शाखाका अधिकृत हेमुलाल गौतमले जानकारी दिए । समितिले कन्टेन्जेन्सी तथा उपभोक्ता सहभागिता रकम कट्टा गरेर २६ लाख ९४ हजार रुपियाँ भुक्तानी लिएको देखिन्छ ।

उपभोक्ता समितिले साइड क्लियर शीर्षकमा १ लाख ७ हजार, एक्जाभेसन शीर्षकमा ९६ हजार ५ सय, अर्थ ब्याक फिलिङ इन क्रिकेट शीर्षकमा १८ लाख ६३ हजार रुपैयाँ भुक्तानी लिएको छ । मैदानमा भने सोलिङबाहेक कुनै काम भएको देखिँदैन ।

साढे २ फिट गहिरो खाल्डो खनेर त्यसलाई हेभी रोलरले थिच्ने लगायतको काम गरेको बताउँदै उपभोक्ता समितिका अध्यक्ष नवीन घिमिरेले वर्षातका कारण चाहेजस्तो काम गर्न नसकेको बताए । पिच निर्माणका लागि रकम भुक्तानी लिइसकेको भए पनि भदौबाट पुनः काम गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्