पोखरीमा डुवेको अवस्थामा भेटियो दुई शव



लम्जुङ– लमजुङ जिल्लाको गाउँशहरको रमाइलो डाँडामा रहेको एक पोखरीमा दुईवटा शव फेला परेको छ । लम्जुङको बेंसीशहर नगरपालिका–३ गाउँशहरको रमाइलोडाँडास्थित पोखरीमा डुबेको अवस्थामा सिमपानीका २१ वर्षीय विकास विक र सो नगरपालिका–३ गाउँशहरका १८ वर्षीय रुकेश विकको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पोखरीमा विकासको शव सोमबार राति र रुकेशको शव आज फेला परेको हो । सोमबार स्थानीयवासीले उक्त पोखरीमा एक जनाको शव देखेपछि प्रहरी र स्थानीयवासी सहयोगमा उक्त शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए । रुकेशलाई भने आज बिहान करीब ११ बजेतिर स्थानीयवासीले सोही पोखरीको पानी घटाएर खोज्ने क्रममा भेटिएको मृतकका भाउजु नाताकी कुमारी विकले बताइन् । मृतक विकास करीब चार महिनादेखि गाउँशहरस्थित मामाघरमा बस्दै आएको र दुवै घरबाट शनिबार खुदी जाने भनेर बिहान ११ बजे निस्किएको मृतकका आफन्तको भनाइ थियो ।

खुदी जाने भनेर हिंडेका दुवैकोे शव भेटिएपछि कसैले हत्या गरेर फालेको हुनुपर्ने आशङ्का मृतकका परिवारले गरेका छन् । प्रहरी निरीक्षक पाण्डेले भने, ‘उनीहरू घुम्ने क्रममा पोखरीमा डुबेको हुन सक्ने बताए । सोमबार भेटिएको विकको शव परीक्षण लागि बेंसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ भने आज भेटिएको शवको मुचुल्का उठाएर परीक्षणका लागि सोही अस्पतालमै ल्याइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्