भारतमा उत्पादित सोनाशक्ति ब्राण्डको प्लास्टिकको चामल गोरखामा



जिल्ला प्रशासन कार्यालयद्वारा विक्रीवितरणमा रोक

गोरखा– जिल्ला प्रशासन कार्यालय गोरखाले भारतमा उत्पादित सोनाशक्ति ब्राण्डको चालम बिक्रीवितरणमा रोक लगाएको छ । उक्त ब्राण्डको चाल प्लास्टिकको भएको पाइएपछि विक्रीवितरणमा रोक लगाएएको हो ।


जिल्ला प्रशासन कार्यालयले त्यस ब्राण्डको चामल तत्कालका लागि बिक्री नगर्न व्यवसायीहरूलाई आग्रह गरेको हो । भारतीय चामल प्रयोग गरेका केही उपभोक्ताले चामल प्लास्टिकको भएको गुनासो गरेपछि तत्कालका लागि बिक्रीमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । गोरखा नगरपालिका वडा नम्बर ६ का कृष्ण श्रेष्ठले बिहान खाना बनाइसकेपछि शंका लागेर उपभोक्ता हित संरक्षण मञ्चलाई खबर गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयको टोलीले पकाइएको भातसहित चामलको नमूना संकलन गरेको छ । संकलित नमूना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीमा पठाइएको प्रशासनका सूचना अधिकारी गौतम भण्डारीले बताए । भारतको रक्सौलस्थित रिपुराज एग्रो प्रालिले उत्पादन गरेको चामल गोरखामा भने चितवनको नारायणगढबाट ल्याइएको बिक्रेताहरुले बताएका छन् । प्रयोगशाला परीक्षणको रिपोर्ट नआउँदासम्म बिक्री नगर्न भनिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्