मन्त्री र सचिवविच कार्यसम्पादन करार सम्झौता



काठमाडौं– प्रधानमन्त्री र मन्त्रीहरूबिच कार्यसम्पादनमा करार सम्झौता भएपछि मन्त्री र मन्त्रालयका सचिवहरूबिच पनि कार्यसम्पादनको करार सम्झौता हुन थालेको छ ।

यसैक्रममा सोमबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीबीच वार्षिक करार सम्झौता गरेका छन् । मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्री बस्नेत र सचिव ओलीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मन्त्री बस्नेतसँग सम्झौतापछि सचिव ओली र मातहतका १४ सहसचिवहरुसँग पनि सम्झौता गरेका छन् ।
सरकारले मुलुकको आवश्यकता र जनताको अपेक्षा परिणाममा देखिने गरी काम गर्नका लागि करार प्रणाली सुरु गरेको हो । कार्यक्रममा मन्त्री बस्नेतले दण्ड र पुरस्कारको व्यवस्थालाई पारदर्शी बनाउन प्रधानमन्त्रीले मन्त्रीसँग र सचिवले सहसचिव तथा विभागीय प्रमुखहरुसँग करार सम्झौताको नीति सरकारले ल्याएको बताए ।
कार्यक्रममा सचिव ओली र वन तथा जलाधार महाशाखा प्रमुख कृष्णप्रसाद आचार्य, जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकाल, सहभागितामुलक वन व्यवस्थापन महाशाखा प्रमुख चन्द्रमान डंगोल, वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख यज्ञनाथ दाहाल, प्रशासन महाशाखा प्रमुख चक्रपाणि पाण्डे, वन विभागका महानिर्देशक डा. रामप्रसाद लम्साल, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक दीपक खराल र वनस्पति विभागका महानिर्देशक सञ्जिवकुमार राईबीच पनि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।

यस्तै सचिव ओली र रेड कार्यान्यवन केन्द्रकी प्रमुख राधा वाग्ले, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका सदस्यसचिव डा. पेमनारायण कँडेल ननगठित नेपाल वन निगमका प्रमुख कार्यकारी अधिकृत डा. रामप्रसाद लम्साल र जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीबीच पनि करार सम्झौतामा हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्