उद्योग निर्देशनालयका अधिकृत, मालपोतका सुब्बा र खरिदार अख्तियारको फन्दामा



काठमाडौं– उद्योग निर्देशनालय हेटौडाका अधिकृत ५० हजार धुस सहित पक्राउ परेका छन् । अख्तियार अनुसन्धान आयोगको टोलीले उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुस रकम सहित नियन्त्रणमा लिएको हो ।

कार्यालयमा उद्योग दर्ता हुन आई आईई प्रतिवेदन स्वीकृत गर्ने प्रयोजनको लागि विभिन्न बहाना गरी अमात्यले सेवाग्राहीसँग घुस मागेर दुःख दिएको भन्ने सूचनाका आधारमा गएको अख्तियारको टोलीले उनलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । आयोगको कार्यालय, हेटौंडाबाट गएको टोलीले अमात्यलाई सेवाग्राहीसँग घुस वापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाट आइतबार रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ अख्तियारको केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यसैगरी, आयोगले मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिह बहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई पनि घुस रकम सहित नियन्त्रणमा लिएको छ । उनीहरुले लम्की चुहा नगरपालिका र जानकी गाँउपालिकास्थित जमिनको हराएको लालपुर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलीपि बनाउनका लागि जग्गा नाप जाँच गरिदिए बापत सेवाग्राहीसँग घुस लिएका हुन् । उनीहरुले घुस गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट गएको टोलीले दुवैलाई आठ हजार घुस वापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुलाई लम्की चुहा नगरपालिका(३ व्यवस्थित नगरबाट आइतबार घुस रकमसहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्