सवारी दुर्घटनामा ३ जनाको मृत्यु



काठमाडौं/ नवलपरासी(पूर्व), चितवन र पर्सामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

            नवलपरासी(पूर्व), सुनवल नगरपालिका-१२ हरकट्टास्थित सडकमा लु.२ ख १६८६ नम्बरको बस बिग्री मर्मत गर्नको लागि जग लगाई टायर फेर्ने क्रममा जग पल्टिन गई बसले च्यापियर चालक नवलपरासी सुनवल नगरपालिका-१२ हरकट्टा बस्ने ४० वर्षीय देव बहादुर थापाको बिहीबार दिउँसो मृत्यु भएको छ । बसले च्यापियर गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त बसले च्यापियर घाइते भएका सोही बसका सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

            चितवन, भरतपुर महानगरपालिका-१० स्थित ना.४८ प ७०६४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री कालिका नगरपालिका-९ बस्ने प्रदिप सुनारको बिहीबार राति मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा, बिन्दवासिनी गाउँपालिका-५ प्रसौनीभाठा चौकस्थित बिआर २२ पि ९८८७ नम्बरको मोटरसाइकलको ठक्करबाट  पैदलयात्री मुसहर्वा टोल बस्ने ६५ वर्षीय भिम दासको शुक्रबार बिहान मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

            दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्