बाजुरामा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु



काठमाडौं– बाजुरामा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । बाजुराको गौमुल गाउँपालिका–६ शान्ति टोलमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गएराति १२ः३० बजे पहिरोले घर बगाउँदा ३० वर्षीया निरुता चदारा र उनकी छ वर्षीया छोरी निस्मिता चदाराको मृत्यु भएको हो । पहिरोमा परि ९० वर्षीय जंगे चदारा गम्भीर घाइते भएका छन् । अन्य चार जना घाइतेको अवस्था सामान्य छ ।

पहिरो गएको स्थानमा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलतर्फ गइरहेको छ । घटनास्थल सदरमुकाम बाजुराबाट करिब ४ घण्टाको पैदल दुरीमा छ । वर्षा नरोकिएका कारण गाउँमा थप त्रास फैलिएको र जिल्लाका धेरै बस्ती भिरालो ठाउँमा भएका कारण पहिरोको जोखिममा रहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्